काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकलाई लक्षित गर्दै विशेष डाटा अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘संविधान दिवस अफर २०८३’ अन्तर्गत दुई प्रकारका अनलिमिटेड डाटा प्याकेज उपलब्ध गराएको हो ।
अफरअन्तर्गत ४९९ रुपैयाँ (करसहित) मा ‘अनलिमिटेड लाइट ४९९’ प्याकेज लिन सकिनेछ । यो प्याकेज लिएपछि ग्राहकले ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्रयोग गर्न पाउनेछन् ।
त्यस्तै, बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि ६९९ रुपैयाँ (करसहित) मा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेजमा ३० दिनसम्म दैनिक १० जीबी डाटा प्राप्त हुनेछ । दैनिक १० जीबीको सीमा सकिएपछि पनि बाँकी समय ३ एमबीपीएस गतिको अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
नेपाल टेलिकमका अनुसार पोस्टपेड मोबाइल ग्राहकका लागि प्याकेजमा रेन्टल चार्जसमेत समावेश गरिएको छ ।
कम्पनीले यो विशेष अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिनका लागि मात्र उपलब्ध गराउने जनाएको छ । ग्राहकले आफ्नो मोबाइलबाट 141511# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत अफर लिन सक्नेछन् ।
































