काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई नेपाल टेलिकमले सञ्चार सेवामा विभिन्न सहुलियत तथा थप सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले बाढी प्रभावित नागरिकसँगै उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका निकायका लागि समेत निःशुल्क सञ्चार सेवा उपलब्ध गराएको जनाएको छ ।
नेपाल टेलिकमका अनुसार रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका प्रभावित क्षेत्र तथा पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी र मुग्लिन–नारायणगढ सडक आसपासका प्रत्यक्ष प्रभावित ग्राहकले यस्तो सुविधा पाउनेछन् ।
क्षतिग्रस्त फाइबर र राउटर निःशुल्क
बाढीका कारण क्षतिग्रस्त भएर पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुगेका एनटी फाइबरका केबल तथा राउटर कम्पनीले निःशुल्क उपलब्ध गराई पुनः जडान गर्ने जनाएको छ ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकको नाममा दर्ता भएका सिमकार्ड पुनः वितरण गर्ने व्यवस्था गरिएको छ । यसका लागि ग्राहकले सम्पर्क गरेका पाँचवटा नम्बर उपलब्ध गराउनुपर्नेछ । ती नम्बरको अन्तिम स्थान बाढी प्रभावित क्षेत्रमा रहेको हुनुपर्ने र सम्बन्धित नम्बरको केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने कम्पनीले जनाएको छ ।
उद्धारमा खटिएकालाई २१० सिमकार्ड
बाढीका कारण विभिन्न स्थानमा फसेका नागरिकसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान सिमकार्ड उपलब्ध गराइएको टेलिकमले जनाएको छ । प्रभावित क्षेत्रका लागि विशेष प्याकेजसहित उपलब्ध गराइएका ती सिमकार्डको विवरण अद्यावधिक गरी अभिलेख राख्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आईडीएमसीमा रहेको मुख्य सर्भर र ब्याकअप सर्भरबीच निःशुल्क ‘डार्क फाइबर–फिजिकल कनेक्सन’ स्थापना गरिएको छ ।
विभिन्न निकायलाई निःशुल्क इन्टरनेट
बाढी प्रभावित नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोपरामर्श सेवा दिँदै आएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सीएमसी–नेपाल) को टोल फ्री नम्बर १८१०५०००४०२ को तीन महिनासम्मको मासिक बिल पनि निःशुल्क गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा नेपाल प्रहरी विपद् उद्धार एवं प्रतिकार्य तालिम केन्द्र तथा राधास्वामी सत्संग व्यास नेपाल, सामाखुशी केन्द्रमा राहत संकलन र व्यवस्थापनका लागि एक महिनासम्म १०० एमबीपीएस क्षमताको निःशुल्क इन्टरनेट उपलब्ध गराइएको छ ।
जिल्ला प्रशासन कार्यालय भरतपुरअन्तर्गतको विपद् व्यवस्थापन युनिटलाई पनि एक वर्षसम्म १०० एमबीपीएस क्षमताको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
रसुवा बाढीपछि प्रभावित क्षेत्रबाट सूचना, क्षतिको विवरण, राहत तथा उद्धारसम्बन्धी जानकारी र फिल्ड रिपोर्टलगायतका तथ्यांक समयमै संकलन तथा प्रवाह गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक वर्षसम्म उच्च गतिको निःशुल्क इन्टरनेट तथा प्राविधिक सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
करिब २० करोड रुपैयाँ सहयोग
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा यसअघि नै करिब २० करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइसकेको जनाएको छ ।
बाढीका कारण नेपाल टेलिकमको दूरसञ्चार पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ । क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण तथा प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापनाको काम निरन्तर भइरहेको कम्पनीले जनाएको छ ।


































