काठमाडौँ । आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्ने समय निर्धारण भएको छ । जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्दै छ।
उक्त बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरूको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरू) का बारेमा छलफल हुने भएको छ।
त्यस्तै बिहान ११ बजे हुने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने भएको छ ।
आजै बिहान ११ बजे नै बस्ने अर्थ समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग छलफल गरिने भएको छ ।
त्यसैगरी मध्यान्ह साढे १२ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने समय निर्धारण भएको छ । उक्त बैठकमा आगामी बजेट २०८१-०८२ का सम्बन्धमा पूर्व बजेट छलफल गरिने भएको छ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषम छलफल हुनेछ भने बिहान साढे ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखा परीक्षकको संसदीय सुनुवाइ हुने जनाएको छ।


































