काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही उद्योगहरुको टीओडीको डेटा मिसप्लेस भएको हुनसक्ने बताएका छन् ।
तर, त्यो डेटा नभए पनि प्राधिकरणले काटेको छुट बिलको महसुल उठाएरै छाड्ने अडान रहेको उनको भनाईको आशय छ । संसद्को भौतिक पूर्वाधार समितिमा मंगलबार बोल्दै उनले भने, ‘टीओडीको डेटामा २० घण्टाभन्दा बढी लिएको छ कि छैन भन्ने देखिन्छ । धेरै मिटरहरुको टीओडीको डाटा पनि हामीले डाउनलोड गरेर राखेका छौं ।
विभिन्न प्रयोजनका लागि टीओडी डाउनलोड गर्नुपर्छ, यसको एनालाइसिस गर्नुपर्छ,’ उनले भने । तर, टीओडी मिटरको एकमात्रै उद्देश्य कुन समयमा कति विद्युत् उपभोग भयो त्यो हेर्ने र त्यसअनुसार बिलिङ गर्ने हो । उद्योगहरुलाई पिक समय र अफपिक समयमा फरक फरक महसुल लगाइने भएकाले कुन समयमा कति युनिट विद्युत् खपत भयो, त्यो थाहा पाउन टीओडी मिटर प्राधिकरणले नै राखिदिने गरेको छ ।
सबस्टेसनमा हुने लगसिटबाट प्रमाणित गराएर पनि महसुल लिइने घिसिङले बताए । तर, लगसिटमा कुन उद्योगमा कति समय लाइन गयो भन्ने तथ्यांक हुँदैन, कुन प्रसारण लाइनमा कति समय लाइन थियो भन्ने मात्रै थाहा हुने गर्दछ। उद्योगी र प्राधिकरणबीच कति युनिट विद्युत् खपत भयो भन्ने विषयमा विवाद भइरहेको छ । तर, कुलमान घिसिङले भने कति युनिट विद्युत् खपत गरेको तथ्यांक भएकाले त्यसकै आधारमा बिलिङ गरेको बताएका छन् ।
‘युनिट हामीसँग छ । किनभने उहाँहरुले नियमित बिल भुक्तानी गर्नुभएको छ । हरेक महिनको युनिट हाम्रो एम पावर भन्ने सफ्टवेयर छ, त्यसमा रेकर्डेड छ,’ उनले भने, ‘युनिटमा डेडिकेटेडको सरचार्ज जोडेर गरेको बिल हो ।’ जबकि, उद्योगीहरुले दैनिक २० घण्टाभन्दा बढी विद्युत् खपत नगरेको र त्यसो हुँदा डेडिकेटेडको शुल्क तिर्न नसक्ने बताउँदै आएका छन् । यसअघि कोभिड-१९ महामारी तथा आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीकै आग्रहमा महसुल उठाउने कार्य रोकिए पनि अब नरोकिने उनले बताए ।
प्राधिकरणले पटक पटक समय दिएर बिल भुक्तानीका लागि आउन भनेर जानकारी गराए पनि उद्योगीहरु भुक्तानीका लागि नआएको घिसिङको भनाई छ । धेरै मिटरहरुको टीओडी डाटा डाउनलोड गरेर राखिएको र केही छुटेकाहरु पनि हेर्न सकिने घिसिङले बताए ।


































