काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ ।
प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकाले दरखास्त पेश गर्न माग गरिएको मन्त्रालयले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रिक्त रहेको नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपश्चात अध्यक्ष पद रिक्त रहेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार रिक्त रहेको पदमा आवेदन दिनका लागि ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने प्रावधान छ ।
त्यस्तै, मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएको हुनुपर्ने वा सरकारी सेवा वा सार्वजनिक संस्थानका कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरि राजपत्रांकित प्रथम श्रेणी दसौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव भएको हुनुपर्ने व्यवस्था रहेको छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी सात दिनभित्रमा दरखास्त पेश गर्न सकिने मन्त्रालयले सूचना मार्फत जानकारी गराएको छ ।

































