काठमाडौं : माईपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिटेन्स) भित्र्याउने लाइसेन्स प्राप्त गरेको छ।
लाइसेन्स प्राप्त गरेसंगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिटेन्स भित्र्याउने भएको छ ।
योसँगै केही दिनभित्र नै व्यावसायिक कारोबार सञ्चालन गर्ने कम्पनीको जानकारी छ । ‘हामीले विदेशबाट डिजिटल माध्यमबाटनै नेपालको कुनैपनि बैंक खातामा रकम पठाउन मिल्ने सिस्टम बनाएका छौं,’ माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले भने, ‘युवाहरुलाई लक्षित गरी सुरक्षित र विश्वासिलो रेमिटेन्स कम्पनी बन्ने हाम्रो पहिलो लक्ष्य हो।’
लामो समयको प्रतिक्षापछि लाईसेन्स प्राप्त गरेको खुशी साट्दै माईपे मनि ट्रान्सफरमा पैसा पठाउँदा विभिन्न वालेटबाट पे आउट गर्न मिल्ने तथा १० हजार भन्दा बढी भौतिक एजेन्टबाट समेत रकम प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी भएपश्चात पहिलो कम्पनीका रुपमा माईपेले लाइसन्स प्राप्त गरेको हो ।
































