काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीका लागि पाँच वर्षसम्म कर तथा गैरकर छुटसहितको विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले बाढीबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसाय पुनः सञ्चालन र पुनरुत्थानका लागि सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।
बाढीबाट क्षति भएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानी साधन पुनः आयात गर्दा भन्सार महसुल, अन्तःशुल्क, सडक निर्माण दस्तुर, स्वच्छ पूर्वाधार तथा लगानी शुल्कलगायत सबै प्रकारका कर छुट दिनुपर्ने उनको माग छ ।
त्यस्तै, बाढीका कारण नष्ट भएका प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण पुनः आयात गर्दा भन्सार बिन्दुमा लाग्ने सबै प्रकारका कर तथा महसुल छुटको व्यवस्था गर्नुपर्ने श्रेष्ठले बताए ।
बाढीपीडित उद्योगी व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा समेट्दै ब्याज अनुदान, बिमा प्रिमियममा छुट तथा आवश्यक अन्य अनुदान उपलब्ध गराउनुपर्नेमा समेत उनले जोड दिए ।
जीवनभर राज्यलाई कर तिरेर आर्थिक गतिविधिमा योगदान गरेका व्यवसायी विपद्का कारण सडकमा पुग्दा उनीहरूलाई पुनः व्यवसायमा फर्काउने जिम्मेवारी राज्यको भएको श्रेष्ठको भनाइ छ ।
‘मन्त्रीज्यूले अहिले बाढीपीडितलाई व्यवसाय तथा उद्योगको पुनःस्थापनाका लागि केही काम गर्नुभएको छ । तर भन्सारमार्फत केही गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘व्यावसायिक प्रयोजनमा प्रयोग हुने सवारी साधन र ढुवानी साधन आयातमा भन्सार महसुलमा छुट दिनुपर्छ । भन्सार बिन्दुमा सङ्कलन हुने भन्सार महसुल, अन्तःशुल्क, सडक निर्माण दस्तुर, स्वच्छ पूर्वाधार, लगानी शुल्कलगायत सबै प्रकारका कर छुट दिनुपर्ने हाम्रो माग छ ।’
श्रेष्ठले राज्यको आर्थिक गतिविधिलाई चलायमान बनाउन जीवनभर योगदान दिएका व्यवसायी अहिले असुरक्षित महसुस गरिरहेको बताए । विपद्का कारण व्यवसाय गुमाएका उद्योगी व्यवसायीलाई पुनः आर्थिक गतिविधिमा फर्काउन सरकारले दीर्घकालीन राहत, सहुलियत र पुनःस्थापनाको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।


































