काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन्। सोमबार आयोजित नीति संवाद कार्यक्रममा बोल्दै उनले लगानीको वातावरण सुधार, उत्पादन वृद्धि र देशभित्रै रोजगारी सिर्जनामा बजेटले ध्यान दिएको उल्लेख गरे।
उनका अनुसार लामो समयदेखि अर्थतन्त्र संरक्षणवाद, अनौपचारिक गतिविधि र प्रशासनिक जटिलतामा अल्झिँदै आएको थियो, जसबाट बाहिर निस्कने प्रयास यो बजेटले गरेको देखिन्छ। यद्यपि, यसको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने उनले स्पष्ट पारे।
अध्यक्ष श्रेष्ठले हालको आर्थिक अवस्थालाई विरोधाभासपूर्ण रहेको बताए। एकातर्फ बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहेको र ब्याजदर न्यून रहेको, अर्कोतर्फ कर्जाको माग घटेको, बजार माग संकुचित भएको र निजी क्षेत्रको लगानी सुस्ताएको अवस्था रहेको उनको भनाइ थियो।
यस्तो परिस्थितिमा प्रस्तुत बजेटले अर्थतन्त्रमा विश्वास पुनःस्थापित गर्ने र गतिशीलता ल्याउने अपेक्षा गरिएको उनले बताए। परम्परागत खर्च वितरणभन्दा बाहिर निस्केर नीतिगत र संरचनागत सुधारतर्फ बजेट केन्द्रित भएको उनको धारणा छ।
उनले सरकारको कानुनी सुधारतर्फको पहललाई पनि सकारात्मक रूपमा लिएका छन्। पुराना र परस्पर बाझिने कानुनहरू व्यवसायका लागि अवरोध बनेको उल्लेख गर्दै उनले तिनको सुधार वा खारेजी आवश्यक रहेको बताए।
सरकारले १५ वटा कानुन संशोधनमार्फत खारेज गर्ने प्रस्ताव, उधारो असुली सम्बन्धी कानुन, बौद्धिक सम्पत्ति संरक्षण कानुन र ‘सनसेट’ कानुन ल्याउने योजना दीर्घकालीन रूपमा महत्वपूर्ण हुने उनको भनाइ छ।


































