काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको कडा आलोचना गरेका छन् । उनले बजेटलाई कार्यान्वयन हुन नसक्ने “फुकेको बेलुन” भन्दै यसको विश्वसनीयतामाथि प्रश्न उठाए ।
बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले दक्षिण एशियाली सन्दर्भमा नेपालको बजेटको आकार असामान्य भएको टिप्पणी गरे । “जीडीपीको करिब एकतिहाइ बराबरको बजेट बनाउनु आफैँमा अव्यवहारिक देखिन्छ,” उनले भने, “यस्तो बजेट लामो समय टिक्ने खालको हुँदैन, कार्यान्वयनमा जानेमा पनि शंका छ ।”
सांसद सिंहले बजेटले देशका वास्तविक समस्या तथा गरिब वर्गलाई सम्बोधन गर्न नसकेको आरोप लगाए । उनका अनुसार बजेटमा युवा रोजगारी, गरिबी निवारणजस्ता विषय प्राथमिकतामा नपरेका छन्, बरु सीमित कर्मचारी वर्गलाई लाभ पुग्ने व्यवस्था गरिएको छ ।
उनले देशमा विधिको शासनभन्दा डरको वातावरण सिर्जना भइरहेको आरोप लगाउँदै यस्तो अवस्थाबाट विकास सम्भव नहुने धारणा व्यक्त गरे ।
त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाइएको विषयमा पनि उनले असन्तुष्टि जनाए । संविधानले यी क्षेत्रलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले यसमा कर लगाउनु अनुचित भएको बताए ।
अर्थमन्त्रीहरूले बजेट प्रस्तुत गरेपछि तत्कालै देशमा ठूलो परिवर्तन हुने अपेक्षा राख्ने प्रवृत्तिप्रति उनले व्यङ्ग्य गर्दै यस्तो सोच व्यवहारिक नभएको टिप्पणी गरे ।


































