काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणका लागि बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन्।
होल्डिङ्ससँग आबद्ध नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक र नेपाल डिस्टिलरीजलगायत संस्थामार्फत उक्त रकम सहयोग गरिएको हो।
बुधबार होल्डिङ्सका प्रबन्ध निर्देशक एवं नर्भिककी निर्देशक मेघा चौधरी, नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा नेपाल डिस्टिलरीजका शरद टिबरेवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण गर्दै मेघा चौधरीले विपद्को समयमा सरकारले सञ्चालन गर्ने राहत तथा पुनर्निर्माणका कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँभन्दा बढी सहयोग गरिएको बताइन्।
सहयोग रकम ठूलो नभए पनि बाढीबाट प्रभावित परिवारको राहत, पुनर्वास तथा पुनःस्थापनामा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास उनले व्यक्त गरिन्। साथै, अहिलेको विषम परिस्थितिमा होल्डिङ्ससँग आबद्ध सबै संस्था सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उनले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका संघसंस्था तथा व्यक्तिहरूप्रति सम्मानसमेत व्यक्त गरिन्। होल्डिङ्सले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
यसअघि होल्डिङ्सका संस्थापक बसन्त चौधरीले गत शनिबार बाढी प्रभावितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। सोही घोषणाअनुसार होल्डिङ्ससँग आबद्ध विभिन्न संस्थामार्फत कुल ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो।


































