National life

‘सेन्टर फ्रुट’सँग झुक्किने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क बदर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२२ असोज २०८३, बिहिबार
402Shares
‘सेन्टर फ्रुट’सँग झुक्किने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क बदर
ncell

काठमाडौँ । बजारमा स्थापित ब्रान्डसँग मिल्दोजुल्दो नाम राखेर ट्रेडमार्क दर्ता गर्दैमा त्यसले कानुनी संरक्षण नपाउने सन्देश दिनेगरी सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा आएको छ ।

चर्चित चुइङ्गम ब्रान्ड ‘सेन्टर फ्रुट’सँग झुक्किनेगरी मिल्दोजुल्दो रहेको ठहरपछि उद्योग विभागले नेपालमा बिक्री हुँदै आएको ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता बदर गरेको हो ।

इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’ ट्रेडमार्कसँग झुक्किने गरी मिल्दोजुल्दो चिन्ह प्रयोग भएको ठहर गर्दै सर्वोच्च अदालतले दिएको फैसलाका आधारमा उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता बदर गरेको हो ।

उद्योग विभागको अभिलेखअनुसार सुनसरीको दुहबीस्थित पर्फेक्ट फुड्स प्रालिको नाममा दर्ता रहेको उक्त ट्रेडमार्क विभागीय निर्णयबाट बदर गरिएको हो । पर्फेक्ट फुड्सले चुइङ्गम उत्पादनका लागि वर्ग ३० अन्तर्गत आवेदन नम्बर ०६१८२२ मार्फत ट्रेडमार्क दर्ता प्रक्रिया अघि बढाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सर्वोच्च अदालतमा पुगेको यो विवादमा दुई ट्रेडमार्कका शब्दबीचको समानताभन्दा पनि त्यसले आमउपभोक्तामा पार्ने प्रभावलाई मुख्य आधार बनाइएको छ ।

मुद्दा नम्बर ०७७–सीआई–०३०१ मा सर्वोच्च अदालतले ‘पर्फेक्ट सेन्टर फिल्ज’ र ‘सेन्टर फ्रुट’बीच पर्याप्त समानता रहेको र त्यसले सामान्य उपभोक्तालाई भ्रममा पार्न सक्ने निष्कर्ष निकालेको फैसलासम्बन्धी कानुनी विश्लेषणमा उल्लेख छ ।

अदालतले ट्रेडमार्कको समानता परीक्षण गर्दा नाम वा अक्षरको तुलना मात्रै पर्याप्त नहुने दृष्टिकोण लिएको छ ।

ट्रेडमार्कको उच्चारण, दृश्य स्वरूप, वस्तुको प्रकृति, बिक्री हुने स्थान, खरिदका क्रममा उपभोक्ताले दिने ध्यान र बजारमा पर्ने समग्र प्रभावलाई समेत मूल्यांकन गर्नुपर्ने फैसलाको कानुनी विश्लेषणमा उल्लेख गरिएको छ ।

ट्रेडमार्कमा शब्दभन्दा समग्र प्रभाव महत्त्वपूर्ण

विवादका क्रममा पर्फेक्ट फुड्सले आफ्नो कम्पनीको नाम, उत्पादनको प्याकेजिङ र ट्रेडमार्कमा प्रयोग भएका अन्य शब्द फरक रहेको दाबी गरेको थियो । कम्पनीले ‘सेन्टर’ र ‘फ्रुट’ जस्ता शब्द सामान्य प्रयोगमा आउने भएकाले तिनको प्रयोग हुँदैमा उपभोक्तामा भ्रम सिर्जना नहुने तर्कसमेत अघि सारेको थियो ।

तर सर्वोच्च अदालतले ट्रेडमार्कमा प्रयोग भएका शब्दलाई अलगअलग रूपमा विश्लेषण गर्नुभन्दा समग्र चिन्हले उपभोक्तामा पार्ने प्रभावलाई प्राथमिकता दिएको कानुनी विश्लेषणमा उल्लेख छ ।

लामो समयदेखि बजारमा प्रयोग हुँदै आएको र उपभोक्तामाझ स्थापित पहिचान बनाइसकेको ‘सेन्टर फ्रुट’ले विशिष्ट व्यापारिक पहिचान हासिल गरेको अदालतले स्वीकार गरेको फैसलामा उल्लेख छ ।

यस्तो अवस्थामा ट्रेडमार्कमा ‘पर्फेक्ट’ वा ‘फिल्ज’ जस्ता अतिरिक्त शब्द समावेश गर्दैमा उपभोक्तामा भ्रम सिर्जना हुने सम्भावना स्वतः अन्त्य नहुने निष्कर्ष अदालतले निकालेको छ ।

व्यावसायिक क्षेत्रमा वकालत गर्दै आएका कानुन व्यवसायी निरव ज्ञवालीले यो फैसलाले स्थापित ब्रान्डसँग मिल्दोजुल्दो चिन्ह प्रयोग गरेर उपभोक्तामा भ्रम सिर्जना गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न महत्त्वपूर्ण नजिर स्थापित गरेको बताए ।

उनका अनुसार ट्रेडमार्कको विवादलाई केवल शब्द वा नामको समानतामा सीमित नराखी उपभोक्तामा पर्ने समग्र प्रभावका आधारमा हेर्ने दृष्टिकोण कानुनी रूपमा महत्त्वपूर्ण छ ।

विदेशी लगानीकर्ताको विश्वास बढाउन सकारात्मक

यस फैसलालाई नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण र विदेशी लगानीको वातावरणसँग पनि जोडेर हेरिएको छ ।

अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)का महाप्रबन्धक अमिर राज थापाले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थिरतासँगै ब्रान्ड र बौद्धिक सम्पत्तिको प्रभावकारी कानुनी संरक्षण आवश्यक रहेको बताए ।

उनले लगानीकर्ताको व्यावसायिक हित र स्थापित ब्रान्डको कानुनी सुरक्षालाई सुनिश्चित गर्ने वातावरण निर्माणमा यस्ता कदमले सहयोग पु¥याउने धारणा राखे ।

nic asia capital

थापाका अनुसार स्थापित ब्रान्ड तथा बौद्धिक सम्पत्तिको संरक्षणसम्बन्धी अदालतका फैसला र तिनको प्रभावकारी कार्यान्वयनले नेपालप्रतिको अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास थप बलियो बनाउन सक्छ ।

नेपालमा लगानी गर्ने बहुराष्ट्रिय तथा विदेशी कम्पनीका लागि ब्रान्डको कानुनी सुरक्षा लगानी संरक्षणको महत्त्वपूर्ण पक्ष मानिन्छ । स्थापित ब्रान्डसँग अत्यधिक मिल्दोजुल्दो चिन्हलाई दर्ता प्रमाणपत्र प्राप्त भएकै आधारमा कानुनी रूपमा सुरक्षित मान्न नसकिने सन्देश यो फैसलाले दिएको कानुनी विश्लेषणमा उल्लेख छ ।

दर्ता बदर भएको ट्रेडमार्क प्रयोग गरे कारबाही हुन सक्ने

नेपालको पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ ले निश्चित अवस्थामा दर्ता भइसकेका ट्रेडमार्कसमेत बदर गर्न सकिने कानुनी व्यवस्था गरेको छ ।

ऐनको दफा १८(३) अनुसार निर्धारित अवस्थामा उद्योग विभागलाई ट्रेडमार्क दर्ता बदर गर्ने अधिकार छ । त्यस्तै, दफा १९ मा बदर भएको ट्रेडमार्क प्रयोग गरी कारोबार गरेमा कानुनबमोजिम जरिवाना तथा सम्बन्धित सामान जफत गर्न सकिने व्यवस्था छ ।

यस आधारमा दर्ता बदर भइसकेको ट्रेडमार्क प्रयोग गरी कारोबारलाई निरन्तरता दिनु कानुनी जोखिमको विषय बन्न सक्ने देखिन्छ ।

पर्फेट्टी भ्यान मेली नेपालले बजारको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ । कम्पनीले आफ्नो ट्रेडमार्क तथा उपभोक्ताको हित संरक्षणका लागि आवश्यक कानुनी कदम चाल्ने पनि स्पष्ट पारेको छ ।

कम्पनीका अनुसार वास्तविक ‘सेन्टर फ्रुट’ उत्पादन भने ट्रेडमार्क दर्ता बदरसम्बन्धी यस निर्णयबाट प्रभावित भएको छैन ।

स्थापित ब्रान्डको संरक्षणमा महत्त्वपूर्ण नजिर

नेपालमा पछिल्ला वर्षहरूमा स्थापित ब्रान्डको नाम, लोगो, प्याकेजिङ तथा समग्र व्यापारिक पहिचानसँग मिल्दोजुल्दो चिन्ह प्रयोगसम्बन्धी विवाद बढिरहेको सन्दर्भमा यो फैसलालाई महत्त्वपूर्ण मानिएको छ ।

ट्रेडमार्क दर्ता भएकै कारण कुनै पनि चिन्हले सधैँ कानुनी संरक्षण पाउने भन्ने हुँदैन । स्थापित ब्रान्डको पहिचानसँग समानता देखिएमा र त्यसबाट उपभोक्तामा भ्रम सिर्जना हुन सक्ने अवस्था रहेमा दर्ता भइसकेको ट्रेडमार्कसमेत बदर हुन सक्ने सन्देश यस प्रकरणले दिएको छ ।

अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्तिसम्बन्धी व्यवस्थामा पनि स्थापित व्यापारिक चिन्हको संरक्षण र उपभोक्ता भ्रमको सम्भावनालाई महत्त्व दिइन्छ । नेपालको ट्रेडमार्क कानुनले समेत स्थापित ब्रान्डको संरक्षणलाई प्राथमिकता दिएको छ ।

‘सेन्टर फ्रुट’ र ‘पर्फेक्ट सेन्टर फिल्ज’बीचको विवादमा सर्वोच्च अदालतको फैसला तथा त्यसको कार्यान्वयनले ट्रेडमार्क दर्ता गर्दा नाम र शब्दको भिन्नता मात्रै नभई बजारमा स्थापित ब्रान्डको पहिचान, उपभोक्तामा पर्ने प्रभाव र भ्रमको सम्भावनालाई समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ ।

यो समाचार शेयर गर्नुहोस्
402SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?