काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमशीलताको विकासलाई सुदृढ बनाउन सरकार तयार रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका प्रतिनिधिहरूसँग भएको भेटमा उनले महिला व्यवसायीहरूले भोगिरहेका अवरोध हटाउनेतर्फ सरकार सक्रिय रहेको उल्लेख गरे। साथै, महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूलाई प्रमुख पर्यटकीय क्षेत्रहरूमा प्रवर्द्धन गर्ने वातावरण तयार गरिने उनले जानकारी दिए।
भेटका क्रममा महासंघका पदाधिकारीहरूले व्यवसाय सञ्चालनका लागि सहज वातावरण, उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कार्यक्रम, व्यापार मेला तथा प्रदर्शनीमा सहभागिता र निर्यात प्रवर्द्धनका उपायहरू आवश्यक रहेको बताएका थिए।
महासंघले अघि सारेको ‘म उद्यमी’ नामक ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सरकारको सहयोग माग गरिएको थियो, जसमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाउँदै तत्काल अघि बढ्न प्रोत्साहन गरेका छन्।
त्यसैगरी, वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारी सहकार्य आवश्यक रहेको पनि उद्यमीहरूले बताएका छन्।
महिला उद्यमीहरूलाई सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता दिनुपर्ने, सरकारी कार्यालय तथा शैक्षिक संस्थामा उनीहरूको उत्पादन अनिवार्य रूपमा खरिद गर्ने व्यवस्था गर्नुपर्ने माग समेत राखिएको छ।
उद्यमीहरूले वित्तीय सुविधा वास्तविक लाभग्राहीसम्म नपुगेको गुनासो गर्दै त्यसको पहुँच ग्रामीण क्षेत्रसम्म विस्तार गर्न र धितोबिनै ऋण उपलब्ध गराउने विकल्प खोज्न आग्रह गरेका छन्। साथै, नीति निर्माणदेखि कार्यान्वयनसम्म महासंघको सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारिएको छ।


































