काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको बिहीबार सम्पन्न ३२औँ वार्षिक साधारणसभाले करसहित ५७ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणसमेत पारित गरेको छ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि एपीएम एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिक १० लाख रुपैयाँ निर्धारण गरिएको छ।
सभाले वरिष्ठ अधिवक्ता हरिशचन्द्र सुवेदीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय अनुमोदन गरेको छ। संस्थापक सेयरधनी समूहबाट पवनकुमार गोल्यान, शशीकान्त अग्रवाल, अक्षय गोल्यान र किरणदेवी अग्रवाल सञ्चालकमा निर्वाचित भएका छन्। साधारण सेयरधनी समूहबाट वसन्त नाहटा निर्विरोध निर्वाचित भएका छन्।
कम्पनीले सञ्चालक समितिको प्रत्येक बैठकमा उपस्थित भएबापत सञ्चालकलाई २० हजार रुपैयाँ बैठक भत्ता दिने निर्णयसमेत गरेको छ।



































