काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ ।
देवघाटधाममा लाग्ने माघेसक्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी तथा इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।
यस सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकाले दिउँसोको समयमा सडक बन्द गरेर काम गरिएको हो ।
यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरिएकाले कामले गति लिएको र अझै ढिस्को फोर्न तीन साता लाग्ने आयोजनाको अनुमान छ । सोहीअनुसार जिल्ला सुरक्षा समितिले ३ सातासम्म म्याद थप गरेको थियो ।आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिक ज्याक हेम्मर प्रयोग गरेर काम गरिएको छ ।
गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएकाले काम गर्न असहज भएको थियो ।सो सडकका १९ पुलमध्ये ४ पुल चार वर्षअघि निर्माण गरिएको र बाँकी १५ पुलका लागि एकैसाथ ठेक्का लगाइएकामा विसं २०७६ चैत १० गतेदेखि सो पुलको निर्माण थालिएको थियो । रासस


































