काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढीपछि जारी खोज तथा उद्धार अभियानलाई अत्यावश्यक अवस्थाबाहेक हालका लागि स्थगित गर्ने निर्णय गरेको छ। अब सरकारको प्राथमिकता प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्र बनाउनेतर्फ केन्द्रित हुने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले यस्तो निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति तथा स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा खोज तथा उद्धार चरण स्थगित गरिएको जनाइएको छ।
बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रस्तावित ५०४ वटा योजना तथा कार्यक्रम अघि बढाउन अर्थ मन्त्रालयमा ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
लागत अनुमान तथा प्राथमिकता निर्धारण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ।
बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको र अब पुनर्निर्माण तथा पुनर्स्थापनाको काम पनि सोही समन्वयमा अघि बढाइने बताएका छन्। बैठकमा सहभागी विपक्षी दलका नेता तथा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले पनि सरकारको पुनर्निर्माण अभियानमा साथ दिने प्रतिबद्धता जनाएका छन्।


































