काठमाडौं। देशको आर्थिक अवस्था दिनप्रतिदिन चिन्ताजनक बन्दै गएको छ। चुनावको शिखर समयमा देश राजनीतिक हलचलमा व्यस्त छ, तर अर्थतन्त्र भने थप गहिरो संकटतर्फ धकेलिएको छ। पुँजी बजारदेखि लिएर समग्र आर्थिक क्षेत्रसम्म, सबै निराशाजनक अवस्थामा पुगेका छन्। असन्तुलित नीतिगत निर्णय र राजनीतिक अनिश्चयले अर्थतन्त्रमा लगातार संकट निम्त्याइरहेको छ।
यसैबीच, यस्तो असन्तुलनको कारण, वर्तमान संकटको प्रभाव, र भावी राजनीतिक दलहरूले खेल्नुपर्ने जिम्मेवारीबारे नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालसँगको आर्थिक भ्वाइसले कुराकानी गरेको छ । प्रस्तुत छ ढकालसँग गरिएको मा कुराकानीको सम्पादित अंश
नेपालको आर्थिक क्रान्तिका मुख्य आधारहरू
कृषि र पर्यटनमा केन्द्रित आर्थिक क्रान्ति
नेपालमा दीर्घकालीन आर्थिक समृद्धिका लागि कृषि र पर्यटन विशेष गरी हाइड्रो टुरिजमलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। जबसम्म वास्तविक आर्थिक क्रान्ति हुँदैन र अर्थतन्त्र बलियो हुँदैन, तबसम्म पुँजी बजारले गति लिन सक्दैन।
मेगा प्रोजेक्ट र रोजगारी सिर्जना
अर्थतन्त्रलाई चलायमान बनाउन ठूला मेगा प्रोजेक्टहरू अपरिहार्य छन्। यस्ता आयोजनाहरूले सयौँ मानिसलाई रोजगारी दिनुपर्छ, जसले बजारमा पैसाको प्रवाह बढाउँछ र समग्र अर्थतन्त्र सक्रिय हुन्छ। यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार पनि आवश्यक छ।
नीतिगत स्थिरताको आवश्यकता
अहिलेको मुख्य चुनौती हो 'नीतिगत अस्थिरता' आर्थिक नीति वा कार्यक्रम कम्तिमा ५ वर्ष स्थिर रहनुपर्नेछ। मौद्रिक नीतिमा हुने छिटो-छिटो परिवर्तन (जस्तै ४/१२ को नीति) पुँजी बजारलाई धराशायी बनाएको र लगानीकर्ताको आत्मविश्वास घटाएको छ।
घोषणा पत्र होइन, कार्यान्वयन पत्र
राजनीतिक दलहरूको चुनावी घोषणा पत्र केवल कागजमा सीमित हुनु हुँदैन। अबको आवश्यकता ‘कार्यान्वयन पत्र’ को हो, जसले नीतिगत सुधार र योजनाहरूको सफल कार्यान्वयनमा जोड दिन्छ।
पुँजी बजार, बैंकर र व्यवसायीको समन्वय
पुँजी बजार अर्थतन्त्रको ऐना हो। व्यवसायी र बैंकरलाई अलग राख्ने नीति उपयुक्त छैन। लगानी क्षमता र पुँजी भएका व्यक्तिहरूलाई बैंक खोल्न र व्यवसाय विस्तार गर्न प्रोत्साहन दिन आवश्यक छ। नीतिगत सुधार र दीर्घकालीन योजनाको सफल कार्यान्वयन भएमा मात्र नेपालको अर्थतन्त्र र पुँजी बजार दुवै समृद्ध हुन सक्छन्।