काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरे पनि नेपाली सेयर बजारमा उत्साह बढाउन सकेन । नयाँ मौद्रिक नीतिप्रति लगानीकर्ताको मनोबल बढाउन नसकेको एकथरिको बुझाइ रह्यो ।
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि लगातार दुई दिन बुधबार र बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट देखियो । यद्यपि मौद्रिक नीति जारी हुने दिन अर्थात मंगलबार भने सेयर बजारमा दोस्रो अंकले बढ्दै सुधारको संकेत देखिएको थियो ।
नयाँ मौद्रिक नीतिले पनि लगानीकर्तामा किन उत्साह जगाएन भन्ने विषयमा लगानीकर्ता तथा पुँजी बजार विश्लेषक तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालको फरक विश्लेषण रहेको छ । प्रस्तुत छ, विश्लेषक ढकालसँग आर्थिक भ्वाइसले गरेको कुराकानीको अंशः
पुँजी बजारमा लगानी गर्ने भनेको लोन लिएरै हो । अन्य उद्योग, कलकारखाना खासै बनेको पनि छैन र चलेको पनि छैन । कोभिड–१९ देखि अर्थतन्त्र थला परेको अवस्था हो । यो अवस्थामा असार मसान्त भनेको ब्याज बुझाउने बेला हो यो । अर्को कुरा जसले लगानी गरेका छन्, ती संस्थाहरुले लगानी गरेको अहिले प्रोफिट बुक गर्ने बेला पनि हो ।
बजेट आयो, त्यसमा पनि राम्रा कुराहरु छन् । मौद्रिक नीति आयो त्यसमा पनि नराम्रो छैन । मौद्रिक नीतिलाई हेर्नुहुन्छ भने ब्याजलाई स्थिर ब्याजदरमा राखिने भनिएको छ । ११% लोन बढाउने भनेर राष्ट्र बैंकले प्रक्षेपण गरेको छ । उद्योगलाई लोन दिने भनेर भनिएको छ । धेरै कुराहरु गरिएको छ । पुँजी बजार बढ्नका लागि समग्र अर्थतन्त्र बढ्नुपर्यो, तब पुँजी बजार बढ्ने हो । त्यसले गर्दा मौद्रिक नीतिलाई नराम्रो भन्न मिल्दैन, समग्रमा राम्रो छ ।
तथापि पनि अहिले पुँजी बजार नबढ्नुको मुख्य दुईटा कारणहरु हुन् । एउटा अहिले ब्याज बुझाउने दबदबा समय हो र अर्को प्रोफिट बुक गर्ने बेला हो । त्यसले गर्दा एक–दुई दिन बजार डाउन ट्रेन्डमै जान्छ । त्यसपछि साउन लागिसकेपछि पुँजी बजारले आफ्नो लय समाउँछ ।
त्यो बेलामा पुँजी बजारले किन लय समाउँछ भन्दाखेरि आजसम्म हेर्ने हो भने बैंकिङ्ग क्षेत्रमा करिब–करिब १३ खर्ब रुपैयाँ लगानी योग्य रकम छ । हामी साढे ५ देखि ६% मा लोन पाउँछौं, हामी डिपोजिट गर्न गयौं भने बैंकमा २–३% भन्दा बढी इन्टरेष्ट छैन । उद्योगी–व्यवसायीहरु खुलेर लगानी गर्ने कन्फिडेन्स अहिले पनि छैन ।
तथापि पनि प्रधानमन्त्रीज्यूले हिजोदेखि उद्योगी व्यवसायीहरुलाई बोलाएर व्यवसाय कसरी सञ्चालन गर्ने हो, कन्फिडेन्स भएर व्यवसाय गर्नुपर्यो भनेर भन्नुभएको छ । राम्रो पक्ष के हो भने अहिले प्रधानमन्त्रीज्यूले हामी उद्योगी व्यापारीहरुसँग मिलेर छलफल गरिरहनुभएको छ । यी कारणले गर्दा पनि अबको दिनमा अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान हुने बित्तिकै पुँजी बजार पनि चल्छ ।
म एकदम आशावादी छु। किनभने दुई तिहाइको सरकार छ, बैंकमा प्रशस्त मात्रामा पैसा छ । मलाई लाग्छ इतिहासमा र मेरो जीवनमा यति सस्तो लोन कहिल्यै पनि पाएको थिएन । त्यसले गर्दा पुँजी बजार नबढ्ने भन्ने होइन । एउटै कुरा के हो भने कन्फिडेन्स बढ्न सकेको छैन । कन्फिडेन्स बिल्डअप गर्ने काम सरकारको हो, त्यसको काम अहिले प्रधानमन्त्रीज्यूले गरिरहनुभएको छ ।

































