काठमाडौं । बि.स. १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ८८औँ वर्षमा प्रवेश गरेको छ । राष्ट्र बैंक स्थापना हुनुपूर्व २०१२ सालसम्म देशको केन्द्रीय बैंकको रूपमा समेत काम गरी नेपालको बैंकिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र नेपालको आफ्नै नोट प्रचलनमा ल्याउनका लागि अग्रणी भुमिका खेलेको बैंकले हाल देशका ७१ जिल्लामा शाखा विस्तार गरी कारोबार तथा बैकिङ्ग सेवा उपलब्ध गराइरहेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयको विचार समेटिएको अन्तर्वाता हामीले यहाँ प्रस्तुत गरेका छौ ।
नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तपाई नियुक्त भएको पनि एक वर्ष पुग्न लागेको छ । यस बीचमा बैंकको समग्र अवस्था कस्तो पाउनु भयो ?
व्यालेन्ससिटको आकारमा निकै ठूलो वृद्धि, व्यवसायमा स्तरोन्नति, शाखा सञ्जाल विस्तार, नयां तथा प्रतिस्पर्धी जनशक्ति, संरचनागत सुधार, ग्राहक सन्तुष्टि अभिवृद्धि भई सन्तुष्ट ग्राहकमार्फत ग्राहक सिफारिस बढ्नु, डिजिटल बैंकिङले फड्को मार्नु, संस्थागत कार्य संस्कृतिमा सुधार आउनु जस्ता पक्षहरूमा नेपाल बैंकले निकै ठूलो छलाङ मार्न सफल भएको मैले महसुस गरेको छु । प्रविधिको अवलम्बन, मानव पुँजीको उपलब्धता साथै जनविश्वासको सही सदुपयोग गरी आगामी दिनमा व्यवसायमा थप विस्तार गर्ने प्रशस्त सम्भावनाहरू मैले देखेको छु ।
यस बैंकको समग्र वित्तीय अवस्था कति सबल देख्नुहुन्छ ?
पुँजीकोष पर्याप्तता अनुपात १३.६२ प्रतिशत रहेको, विगतमा उच्च गतिले बढेको खुद नाफामा हाल खराब कर्जामा भएको वृद्धिका कारण केही गिरावट आएको भएता पनि व्याज आम्दानी निरन्तर बढिरहेको र कुल नाफामा निरन्तर बढोत्तरी हुँदै गएको छ । कुनै समय करिब ६० प्रतिशत रहेको निष्क्रिय कर्जा हाल ३ प्रतिशतका हाराहारीमा रहेको छ। समग्र अर्थतन्त्रमा आएको समस्याले बैंकका केही वित्तीय सूचकहरूमा समस्या देखिएता पनि ती समस्याहरू अल्पकालीन नै हुनेछन्। यस बैंकका समग्र परिसूचकहरूलाई हेर्दा बैंकको वित्तीय अवस्था निकै नै सबल रहेको पुष्टि हुन्छ ।
अन्य बैंकहरूभन्दा यस बैंकका पृथक् पहिचान के के हुन् ?
निक्षेपमा उच्च व्याज तथा कर्जामा न्यून ब्याज प्रदान गरिरहेको छ । सहर बजारमा मात्र आफ्नो उपस्थिति केन्द्रित नगरी दूरदराजका बस्तीहरूमा समेत शाखा खोली बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको आधार व्याजदर न्यून छ जसले गर्दा तुलनात्मक रूपमा कम ब्याजदरमा बैंकले कर्जा प्रदान गरिरहेको छ। यी नै नेपाल बैंकका पृथक् पहिचान र मानक बैंक भइरहने आधार हुन् ।
नेपालको जेठो र पहिलो बैंकका रूपमा यस बैंकले आफ्नो साख कसरी हासिल गर्दैछ ?
विगतका थुप्रै उतारचढावका बावजूद ग्राहकको यस बैंकप्रतिको विश्वास कत्ति पनि डगमगाएको देखिएन । बालक, युवा, प्रौढ र जेष्ठ नागरिक सबैको रोजाइ बन्दै उद्यमी व्यवसायीदेखि सामान्य आर्थिक स्तर भएका करिब २५ लाख नेपालीको सहयात्री बन्दै यस बैंकले आफ्नो साख हासिल गरेको छ र यसलाई जोगाइरहनेछ ।
बैंकिङ क्षेत्रमा देखिएको अधिक तरलता र न्यून कर्जा विस्तारको सामना कसरी गर्दै हुनुहुन्छ ?
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको विस्तारकारी वित्तीय तथा मौद्रिक नीतिले गर्दा समग्र अर्थतन्त्र चलायमान हुँदै गएको र यसको सकारात्मक प्रभावले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्दै जाने देखिन्छ । नेपाल बैंकको कर्जा निक्षेप अनुपात अहिले ७६ प्रतिशत मात्र रहेको छ । न्यून व्याजदरमा नयाँ नयाँ कर्जा प्रोडक्टहरू लन्च गर्दै कर्जा विस्तार गर्ने कार्य अगाडि बढाएका छौं ।
यस ऐतिहासिक क्षणमा यस बैंकका ग्राहक, सेयरधनी, कर्मचारीलगायतका सरोकारवालालाई थप के सन्देश दिन चाहनुहन्छ ?
बैंकलाई एक सबल र सक्षम बैंक बनाउने काममा निरन्तर मार्गदर्शन गरी महत्वपूर्ण भूमिका खेल्नुहुने विगतदेखि हालसम्मका सञ्चालक समितिप्रति हामी आभारी छौं । नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय लगायत नियामक निकाय र अन्य सहयोगी संस्थालाई धेरै धेरै धन्यवाद मन, वचन र कर्मले यस बैंकको श्रीवृद्धिका लागि अथक मेहनत गर्ने एवम् बैंकको योजनालाई मूर्त रूप दिन कार्यक्षेत्रमा खटिने यस बैंकका सम्पूर्ण कर्मचारीहरूलाई बधाई ।


































