काठमाडौं । बीमा अभिकर्ता भनेको बीमा कम्पनी र बीमितलाई जोड्ने पुल हो । अभिकर्ताले बीमा कम्पनीको तर्फबाट बीमितलाई बीमा योजनाहरूको बारेमा जानकारी दिई उपयुक्त बीमा योजना छनौट गराउन सहयोग गर्ने गर्दछन् ।
यस कारण बीमा अभिकर्ता सहनशील, बीमाको बारेमा राम्रो ज्ञान भएको हुनुपर्ने एलिसा आले मगरको भनाई छ । एलिसा विगत ३ वर्षदेखि यसै पेसामा आबद्ध रहेर काम गर्दै आएकी छन् ।
इलाम जन्म घर भई मोरङको उर्लाबारीलाई कर्म घर बनाएकी आले मगर आजभन्दा ३ वर्ष पहिले सामान्य अभिकर्ताको रूपमा नेशनल लाइफ इन्स्योरेन्समा जोडिएकी थिइन । हाल भने उनी कम्पनीको चिफ बिजनेस म्यानेजरका रूपमा कार्यरत छिन् ।

अभिकर्ता पेसामा त्यति धेरै रुची नभएपनि यसवारेमा बुझ्दै गएपछि अभिकर्ता बन्न मन लागेको आर्थिक भ्वाइसससँगको कुराकानीका क्रममा एलिसाले सुनाइन् ।
‘मेरो आफ्नै फेशन सप छ । त्यस कारण मैले यो काम भ्याउँदिन, धेरै व्यस्त हुन्छु र सक्दिन पनि भनेर भनेको थिए । तर यसबारेमा अझ धेरै बुझेपछि आबद्ध हुन मन लाग्यो । पछि काम गर्दै जाँदा त कसरी यसमा यति धेरै डुब्न पुगे मलाई नै थाहा छैन । जे होस अहिले खुसी नै छु ।’ उनले भनिन् ।
कुनैबेला म यो काम गर्न नै सक्दिन भन्ने एलिसा अहिले भने यसै काममा धेरै मानिसको लागी प्रेरणाको स्रोत बन्न पुगेकी छन् । कतिपय मानिसहरू त कम्पनी र बोनसको समेत वास्ता नगरी व्यक्तिगत विश्वासको कारणले पनि बीमा गर्न आउने गरेको उनको भनाई छ ।
यस्तै कुनै वेला जर्वजस्ती बीमा गराएका मानिसहरू पनि बीमाको बारेमा राम्रोसँग बुझिसकेपछि धन्यवाद दिन आउने गरेको कुरा पनि आफूले भोगेको उनले बताइन् ।
‘कतिपय मानिसहरूले त मरेपछि मात्रै पाउने पैसाको के काम भनेर पनि भन्ने गर्छन् । पैसा नै भयो भने त बैङ्कमा पनि त राख्न मिलिहाल्छ नि भन्नेहरू पनि धेरै भेटिन्छन् तर उनीहरूलाई बीमाको बारेमा राम्रोसँग बुझाउन सक्नुपर्छ ।’ उनले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा भनिन् ।
अभिकर्ता बनेर काम गर्दा आफूलाई घरपरिवारले पनि राम्रो सहयोग गरेको उनी सुनाउँछिन् ।
अभिकर्ताको रूपमा काम गर्दै गर्दा एलिसाले सन् २०२३ र २०२४ मा २ पटक अभिकर्ताको अन्तर्राष्ट्रिय संस्था एमडिआरटीको उपाधि पाइसकेकी छिन् । यस्तै ३ पटक त उनले चेयरम्यान कार्यक्रम पुरा गरिसकेकी छन् ।

नयाँ अभिकर्ता बन्न चाहनेहरूका लागि एलिसाको सुझाव
झनक्क रिसाउने बानी भएको मानिसहरूले यो पेसामा आउन नहुने उनी बत्ताउँछिन् । यस्तै १–२ जनाको बीमा गरेर थप मिहिनेत नगर्नेहरूलाई पनि यो पेसामा नआउन उनको सुझाव छ ।
एलिसाको नजरमा बीमाको परिभाषा
मानिसको जीवनमा कुन वेला कस्तो प्रकारको समस्या वा विपत्ति आउँछ कसैलाई थाहा हुँदैन त्यस कारण यस्ता विपत्तिहरूको सामना गर्न सक्ने क्षमता जीवन बिमाले प्रदान गर्ने उनको भनाई छ ।
नेशनल लाइफमा नै इन्स्योरेन्स किन?
यसका साथै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आफैमा आर्थिक रूपमा सबल र सक्षम कम्पनी भएकोले पनि यो कम्पनीमा विश्वास गर्न सकिने उनको भनाई छ ।

































