काठमाडौं । साताको पहिलो कारोवार दिन आज आइतवार पनि नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रवार प्रतितोला दुई हजार रुपैयाँले बढेर एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मुल्य आइतवारसम्म आईपुग्दा फेरी ६ सय रुपैँयाले बढेर एक लाख ६५ हजार रुपैँया पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च हो ।
विश्व अर्थतन्त्र नै सङ्कुचनको अवस्थामा पुगिरहेका बेलामा सुनको मूल्य भने किन यसरी उकालो लागेको होला भन्ने धेरैको चासोको विषय बनेको छ ।
बैङ्कहरूले दिने ब्याजदर न्यून हुनुका साथै बजारमा तरलताको अभाव पनि नभएका कारणले मानिसहरूले सुरक्षित लगानीको एक मात्र क्षेत्रका रूपमा सुनलाई ठान्नुजस्ता यावत कारणहरूले गर्दा सुनको मूल्य वृद्धिलाई प्रोत्साहित गरिरहेको जानकारहरूको भनाई छ ।
केही दिनयता नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेको अवस्थामा सुनको भाउ किन बढी रहेको छ भन्ने विषयमा केन्द्रित रहेर हामीले नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पुर्वअध्यक्ष माणिक रत्न शाक्यसँग कुराकानी गरेका छौ ।
आर्थिक भ्वाईसका लागी विजय फुयाँलले महासङ्घका पुर्वअध्यक्ष माणिक रत्न शाक्यसँग गरेको कुराकानीको सम्पादित अंश ।
पछिल्लो समय सुनको भाउ निरन्तर उकालो लाग्नुको मुख्य कारण के हो ?
सुनको भाउ उकालो लाग्नुको पुराना कारणहरु जस्तै, कोभिड महामारी र त्यो भन्दा पहिलेदेखि नै चलिरहेको अमेरिका–चीनबिचको व्यापार युद्ध, बढ्दै गएको भू–राजनीतिक प्रभाव, विश्वमा बढी रहेको बेरोजगारीको समस्या तथा विश्व आर्थिक मन्दीजस्ता कारण र तिनको समाधान नहुनु त छदै छन् । तर पछिल्लो समय फेरी थपिएका नयाँ कारणमा भने इजरायल–गाँजा क्षेत्रमा चलिरहेको युद्ध र युद्धको नेतृत्व गरिरहेका ठुला नेताहरू नै मारिनुले विश्व अर्थतन्त्रमा नै हलचल ल्याउनु पनि हो ।
अर्को भनेको, अरेबियन मुलुकहरूले पनि तेल बेच्दै हतियार किन्दै गरेकाले पनि सुनको मूल्य बढ्नुमा ठुलो भूमिका खेलेको छ । किनभने सुन उत्खनन गर्दा ठुलो मात्रामा तेलको प्रयोग हुने गर्दछ । जसका कारणले सुन उत्खननको लागत बढ्न गई सुनको भाउमा प्रत्यक्ष असर परेको बुझ्न सकिन्छ ।
यसपछिको अर्को मुख्य कारण भनेको, संसार भरिका मानिसहरूले बैङ्कमा राखेको पैसा सुनमा लगानी गर्नु हो । इजरायल–हमास तथा इरान युद्धका कारणले अर्थतन्त्रलाई थप त्रसित बनाएको अवस्थामा धेरै मानिसहरूको आकर्षण सुनमा लगानी गर्नेतर्फ भएकोले सुनको भाउ आकासिएको हो ।
यस्तै, अमेरिका, फ्रान्स, जर्मनी लगायतका देशहरूका सेन्ट्रल बैङ्कहरूले निरन्तर रूपमा ब्याजदर घटाउने खुलासा गरेका कारणले पनि ठुला व्यापारी तथा पैसावाल मानिसहरूले बैङ्कबाट पैसा निकाल्दै सुनमा लगानी गर्दै सुन सञ्चय गर्ने गरेका छन् । यस्तै अरू देशका सेन्ट्रल बैङ्कहरूमा पनि सुन सञ्चय गर्ने होड नै चलेको छ ।
अनि हामीले हेर्दा डलर कमजोर भएको जस्तो नदेखिए पनि विश्व अर्थतन्त्रमा भने डलरको भाउ कमजोर हुँदै गएको छ । डलर कमजोर हुँदा सुनको भाउ बढ्ने त सामान्य कारण नै हो । यी यस्तै कारणहरूले अहिले सुनको भाउ निरन्तर रूपमा उकालो लागिरहेको हो ।
आगामी दिनमा सुनको मूल्य घट्न सक्ला त ? के छ तपाईँको प्रक्षेपण, बढ्यो भने कति सम्म पुग्ने अनुमान गर्नुभएको छ ?
अब हेर्नुहोस्, नेपालमा सुनमा लगाइएको अत्यधिक राजश्वको कारणले विश्व बजारमा भन्दा हामीकहाँ सुन अझ महँगो नै छ । विश्व अर्थतन्त्रमा अहिले भइराखेको सुनचाँदीको कुरालाई अध्ययन गरेर भन्ने हो भने चालु आर्थिक वर्ष २०८१–८२ को अन्त्यसम्ममा अर्थात् २०८२ को असार मसान्त सम्ममा सुनको भाउ २ लाख रुपैयाँ प्रतितोला पुग्छ भन्ने निश्चित भइसकेको मेरो प्रक्षेपण हो ।
हाम्रो जन्मदेखि मरणोपरान्तका विभिन्न सस्कारहरू, चाडपर्व तथा व्यवहारहरू सुनसँग जोडिएका छन् । त्यसकारणले गर्दा, भोलीका दिनमा सुनको जलप लगाएर सुन नै हो भनेर पितल लगायतका अन्य धातुहरूको प्रयोग गर्नुपर्ने दिनहरू पनि आउन सक्छन् ।

































