काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले जेठ १८ गतेदेखि २१ गतेसम्म खुला गरेको उक्त आईपीओ आज वितरण गरिएको हो।
मागभन्दा धेरै आवेदन परेकाले शेयर बाँडफाँड गोलाप्रथा (लटरी) प्रणालीमार्फत गरिएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ।
कम्पनीले सर्वसाधारणका लागि कुल ४६ लाख ७४ हजार कित्ता शेयर निष्कासन गरेको थियो।
यसमा २७ लाख ५९ हजार ४९० वटा आवेदन परेका थिए, जसमध्ये २७ लाख २७ हजार ५१५ आवेदन मात्र योग्य ठहरिएका छन् भने २७ हजार ७२९ आवेदन रद्द गरिएको छ।
योग्य आवेदकमध्ये ६ लाख ६७ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर वितरण गरिएको छ। बाँकी आवेदकले भने शेयर प्राप्त गर्न सकेनन्।
आईपीओको नतिजा ‘मेरो सेयर’ तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
































