काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ केन्द्रीय महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। पार्टीले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो।
कांग्रेसले १५औँ महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ।
कांग्रेसको केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ।
निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन असोज ३ गते, जिल्ला अधिवेशन असोज ७ गते र प्रदेश अधिवेशन असोज १० गते गर्ने तय गरिएको छ। त्यसपछि असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ।
महाधिवेशनको तयारीअन्तर्गत पार्टीले वडा, गाउँ–नगर, प्रदेशसभा क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय, जिल्ला र प्रदेश तहका अधिवेशनको प्रक्रिया अघि बढाएको छ।
































