काठमाडौं । पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच पूर्व प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा द्वन्द्वपीडित परिवारलाई उपचारमा विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौताअनुसार परिषद्मा आबद्ध पूर्व प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्य बिरामी भई काठमाडौं मेडिकल कलेज, सिनामंगल वा भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पताल तथा विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचारका लागि जाँदा विभिन्न सेवामा छुट पाउनेछन् ।
परिषद्को सिफारिसपत्र लिएर द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका सदस्यका परिवारका सदस्य दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भई उपचार गराउँदा अस्पतालले उपलब्ध गराउने अन्तरङ्ग विभागका सबै सेवाको शुल्कमा शतप्रतिशत छुट दिने व्यवस्था गरिएको छ । यस्तो सुविधा द्वन्द्वपीडित परिवारका आमा, बुवा, श्रीमान् वा श्रीमती तथा नाबालक दुई जना छोराछोरीलाई उपलब्ध हुनेछ ।
त्यस्तै, द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका सदस्यबाहेक परिषद्मा आबद्ध अन्य पूर्व प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्यले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा अन्तरङ्ग विभागका सबै सेवाको शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भई उपचार गराउँदा २५ प्रतिशत र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत छुट उपलब्ध हुनेछ ।
सम्झौतामा द्वन्द्वपीडितका लागि थप विशेष सुविधा पनि राखिएको छ । जसअनुसार पाँच जनासम्म द्वन्द्वपीडितलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराइनेछ ।
अस्पताल पुगेको २४ घण्टाभित्र परिषद्ले सम्बन्धित बिरामीको नाम उल्लेख भएको सिफारिसपत्र अस्पताललाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । आकस्मिक उपचारका लागि आउने परिषद्मा आबद्ध बिरामीलाई २४ घण्टासम्म कोडमार्फत उपचार सेवा उपलब्ध हुने भए पनि सम्झौताअनुसारको सुविधा प्राप्त गर्न २४ घण्टाभित्र परिचय खुल्ने सिफारिसपत्र अस्पतालमा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
सम्झौताअनुसार आईसीयू, सीटी स्क्यान, कलेजो प्रत्यारोपण, क्याबिन बसाइ, प्लास्टिक तथा कस्मेटिक सर्जरीलगायतका सेवामा छुट उपलब्ध हुने छैन । त्यस्तै, इम्प्लान्ट, सर्जिकल सामग्री, प्रयोग हुने अन्य सामग्री तथा औषधिमा समेत छुट लागू हुने छैन । सरकारी स्वास्थ्य सेवाबाट प्राप्त हुने स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सुविधा पूर्ण रूपमा उपयोग गरिसकेपछि मात्र सम्झौताअनुसारको थप सहुलियत प्राप्त हुने व्यवस्था गरिएको छ ।
यो सम्झौता २०८३ साउन २९ गतेदेखि २०८४ असार मसान्तसम्म एक आर्थिक वर्षका लागि लागू हुनेछ । सम्झौताको कार्यान्वयनका क्रममा प्रत्येक ६ महिनामा दुवै पक्षले समीक्षा गर्ने व्यवस्था गरिएको छ ।
सम्झौताको मुख्य उद्देश्य लामो समयसम्म राष्ट्रको सुरक्षामा योगदान गरेका पूर्व प्रहरी कर्मचारी तथा द्वन्द्वका कारण प्रभावित परिवारलाई आवश्यक स्वास्थ्य उपचार सहज, पहुँचयोग्य र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउनु तथा उपचारका कारण परिवारमा थप आर्थिक भार नपरोस् भन्ने रहेको छ ।
विशेषगरी द्वन्द्वपीडित परिवारलाई शतप्रतिशतसम्म उपचार छुट तथा पाँच जनासम्म द्वन्द्वपीडितलाई निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराउने व्यवस्था सम्झौताको महत्वपूर्ण पक्षका रूपमा रहेको छ ।
काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजले प्रदान गर्दै आएको स्वास्थ्य सेवालाई पूर्व प्रहरी कर्मचारी तथा उनीहरूका परिवारसम्म सहज रूपमा पुर्याउन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सम्झौतामा पूर्व प्रहरी कर्मचारी परिषद् नेपालका अध्यक्ष रमेश कुमार श्रेष्ठ र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोना शर्माले हस्ताक्षर गरेका छन् ।


































