काठमाडौं । आईसीएफसी फाइनान्सले अमित श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १९ गते बसेको ३७९औँ बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार श्रेष्ठको नियुक्ति कात्तिक २० गतेदेखि लागू भएको छ । यसअघि उनी कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारीमा थिए ।
श्रेष्ठसँग बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा बढीको कार्यअनुभव छ । उनले नेपाल एसबीआई बैंक लिमिटेडमा समेत ६ वर्ष काम गरेका छन् । यसका अतिरिक्त उनले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड (एफएमडीबीएल) को सञ्चालकका रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
शैक्षिक रूपमा श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन् भने दिल्ली विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरेका छन् ।
उनीसँग संस्थागत सुशासन, संस्थागत सञ्चालन, कर्जा व्यवस्थापन तथा समग्र संस्थागत व्यवस्थापनका क्षेत्रमा अनुभव रहेको छ ।


































