काठमाडौं । रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको बाढीपहिरोका कारण सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता छनोट तथा घोषणा कार्यक्रम स्थगित गरेको छ।
आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै भदौ १६ गते तय भएको उपहार विजेता छनोट कार्यक्रम विपद्को विषम परिस्थितिका कारण स्थगित गरिएको जनाएको हो।
विभागका अनुसार स्थगित कार्यक्रमसँगै आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट पनि असोज १ गते गरिनेछ। सो दिन भदौ महिनाभरका खरिद बीजकबाट प्राप्त कुपनका आधारमा दैनिक तथा बम्पर उपहारका विजेता छनोट गरिने विभागले जनाएको छ।
बाढीपहिरोबाट प्रभावित जिल्लाको वर्तमान अवस्थालाई ध्यानमा राख्दै कार्यक्रमको मिति सारिएको विभागले स्पष्ट पारेको छ।

































