National life

९ वर्षे इन्स्योरेन्स यात्रामा मर्जरदेखि दीर्घकालीन पुँजी परिचालनसम्म, डेपुटी सीईओको अनुभव

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ दिन अगाडि|२९ भदौ २०८३, सोमबार
1.2kShares
९ वर्षे इन्स्योरेन्स यात्रामा मर्जरदेखि दीर्घकालीन पुँजी परिचालनसम्म, डेपुटी सीईओको अनुभव
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) का रूपमा ९ वर्ष पूरा गरेका निराजन कडेलले इन्स्योरेन्स क्षेत्रमा बिताएको समयले वित्तीय सेवाप्रतिको आफ्नो दृष्टिकोण नै फराकिलो बनाएको बताएका छन् ।

सानिमा रिलायन्स लाइफसँग ९ वर्ष पूरा गरेको अवसरमा आफ्नो अनुभव सार्वजनिक गर्दै उनले इन्स्योरेन्स क्षेत्रमा प्रवेश गर्नु आफ्ना लागि सहज निर्णय नभए पनि त्यसले नेपाल, नेपाली समाज, व्यवसाय र अर्थतन्त्रलाई फरक कोणबाट बुझ्ने अवसर दिएको बताएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इन्स्योरेन्स क्षेत्रमा आउनुअघि उनले बैंकिङ क्षेत्रमा लामो समय काम गरेका थिए । स्ट्यान्डर्ड चार्टर्ड बैंकमा करिब ८ वर्ष तथा त्यसअघि सिद्धार्थ बैंक र सिटिजन्स बैंकमा काम गरेको अनुभव उनीसँग छ । बैंकिङ क्षेत्रमा स्थापित भइसकेको अवस्थामा इन्स्योरेन्स क्षेत्रमा प्रवेश गर्ने निर्णय चुनौतीपूर्ण भए पनि अहिले फर्केर हेर्दा उक्त निर्णय महत्वपूर्ण व्यावसायिक यात्राका रूपमा रहेको उनको भनाइ छ ।

उनका अनुसार बैंकिङ क्षेत्रले पैसा, ग्राहक, व्यवसाय र जोखिम व्यवस्थापनलाई बुझ्ने आधार तयार गर्‍यो भने इन्स्योरेन्स क्षेत्रले त्यसमा दीर्घकालीन वित्तीय प्रतिबद्धता, वितरण सञ्जाल र नीतिधारकप्रतिको जिम्मेवारीको अर्को आयाम थपेको छ ।

इन्स्योरेन्स क्षेत्रमा काम गर्ने क्रममा देशका विभिन्न स्थानमा पुगेर ग्राहक तथा सर्वसाधारणका आवश्यकता बुझ्ने, ठूलो वितरण सञ्जालसँग काम गर्ने र दीर्घकालीन वित्तीय प्रतिबद्धतासँग जोडिएको जिम्मेवारीलाई नजिकबाट अनुभव गर्ने अवसर मिलेको उनले बताएका छन् ।

सानिमा लाइफ र रिलायन्स लाइफको मर्जर महत्वपूर्ण अनुभव

उनको व्यावसायिक यात्रामा सानिमा लाइफ र रिलायन्स लाइफको मर्जरलाई पनि महत्वपूर्ण अनुभवका रूपमा हेरिएको छ । उनका अनुसार मर्जर दुईवटा कम्पनी वा ब्यालेन्स सिट जोड्ने प्रक्रिया मात्र नभई फरक संस्थागत संस्कृति, टिम, प्रणाली, प्रक्रिया र काम गर्ने शैलीलाई एउटै उद्देश्यमा जोड्ने जटिल प्रक्रिया हो ।

मर्जरको अनुभवले फरक तथा जटिल परिस्थितिलाई हेर्ने र व्यवस्थापन गर्ने आफ्नो सोचलाई अझ फराकिलो बनाएको उनले बताएका छन् ।

इन्स्योरेन्स कम्पनी केवल पोलिसी बेच्ने संस्था होइन

उनले इन्स्योरेन्स कम्पनीको भूमिकालाई पोलिसी बिक्री र दाबी भुक्तानीमा मात्र सीमित गरेर हेर्न नहुने बताएका छन् । उनका अनुसार इन्स्योरेन्स कम्पनी अर्थतन्त्रका लागि महत्वपूर्ण दीर्घकालीन संस्थागत लगानीकर्ता पनि हुन् ।

पोलिसीधारकबाट संकलन हुने प्रिमियमबाट ठूलो दीर्घकालीन कोष निर्माण हुने र उक्त कोषलाई नियामकीय व्यवस्थाभित्र रहेर सरकारी सुरक्षणपत्र, स्थिर आयका उपकरण, पुँजी बजारलगायत अर्थतन्त्रका विभिन्न क्षेत्रमा लगानी गर्ने गरिएको उनले उल्लेख गरेका छन् ।

त्यसैले इन्स्योरेन्स कम्पनीको जिम्मेवारी प्रिमियम संकलन बढाउनेमा मात्र सीमित नहुने उनको धारणा छ । पोलिसीधारकको कोषलाई सुरक्षित राख्ने, दिगो प्रतिफल सुनिश्चित गर्ने तथा त्यही पुँजीलाई देशको आर्थिक एवं पूर्वाधार विकासमा कसरी प्रभावकारी रूपमा उपयोग गर्न सकिन्छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताएका छन् ।

दीर्घकालीन पुँजी परिचालनमा चासो

पछिल्लो समय इन्स्योरेन्स क्षेत्रमा रहेको दीर्घकालीन पुँजीलाई अझ प्रभावकारी र जिम्मेवार ढंगले कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा आफ्नो चासो बढेको उनले बताएका छन् ।

वित्तीय क्षेत्रमा २० वर्षभन्दा बढी समय बिताइसकेपछि अहिले कुनै एउटा बैंक वा इन्स्योरेन्स कम्पनीको दृष्टिकोणबाट मात्र नभई समग्र वित्तीय प्रणाली र अर्थतन्त्रको ठूलो चित्रबाट विषयलाई हेर्न रुचि बढेको उनको भनाइ छ ।

देशमा पुँजी कसरी परिचालन हुन्छ, कहाँ प्रवाह हुन्छ, जोखिम कसरी व्यवस्थापन गरिन्छ र वित्तीय संस्थाले अर्थतन्त्रमा अझ ठूलो भूमिका कसरी निर्वाह गर्न सक्छन् भन्ने विषय अहिले आफूलाई थप रुचिकर लाग्न थालेको उनले बताएका छन् ।

सानिमा रिलायन्स लाइफसँगको ९ वर्षको यात्राले धेरै कुरा सिकाएको र अझ धेरै कुरा सिक्न बाँकी रहेको उल्लेख गर्दै उनले सिकाइको क्रम निरन्तर जारी रहने बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?