काठमाडौँ । नेपाली कांग्रेसका नेताहरू नैनसिंह महर र रञ्जित कर्णको नेतृत्वमा ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरिएको छ। पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक विवादले संगठन कमजोर बन्दै गएको निष्कर्षसहित अभियानले साउन २० गते काठमाडौँमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने घोषणा गरेको हो।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको विवरणअनुसार उक्त भेला बिहान ११ बजे सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ। भेलामा देशभरका ७५३ स्थानीय तह, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
अभियानले नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्रमा समेत असर पर्ने ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै पार्टी एकता राष्ट्रिय आवश्यकता भएको जनाएको छ। कांग्रेस विभाजित हुँदा लोकतान्त्रिक शक्ति कमजोर भई प्रतिगामी शक्तिहरू हाबी हुने खतरा बढ्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै, वर्तमान राष्ट्रिय परिस्थितिप्रति पनि अभियानले चिन्ता व्यक्त गरेको छ। सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेसका अन्य जिल्लासम्म फैलिँदा पनि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाइएको छ। आर्थिक मन्दी, बेरोजगारी, युवा पलायन र सुशासनको चुनौतीबीच प्रमुख प्रतिपक्ष कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु चिन्ताजनक भएको अभियानको भनाइ छ।
नेता महर र कर्णले यो अभियान कुनै व्यक्ति, गुट वा पदका लागि नभई पार्टी एकता सुदृढ गर्ने, जनतासँगको सम्बन्ध पुनर्स्थापित गर्ने र स्पष्ट कार्यदिशा तय गर्ने उद्देश्यले अघि बढाइएको बताएका छन्।
साउन २० गते हुने राष्ट्रिय एकता भेलामार्फत विभिन्न तह, वर्ग र समुदायको सहभागितामा आन्तरिक एकता बलियो बनाउने लक्ष्य राखिएको छ। अभियानले कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा लोकतन्त्रप्रेमी सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

































