काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न आग्रह गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले काठमाडौं जिल्लाभित्र रहेका संघ–संस्था, कम्पनी, क्लब, व्यक्ति तथा नागरिकस्तरबाट बाढीपीडितका लागि आवश्यक राहत सामग्री उपलब्ध गराउन इच्छुकलाई सहयोग गर्न आग्रह गरेको हो ।
भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति पु¥याएको उल्लेख गर्दै प्रशासनले तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री संकलन गर्न लागेको जनाएको छ ।
काठमाडौंमा संकलन हुने राहत सामग्री एकद्वार प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संकलन गरिनेछ ।
राहत संकलनसम्बन्धी समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकिएको सूचनामा उल्लेख छ । सहयोग गर्न इच्छुकले ९८४१७९८५४२ मा सम्पर्क गर्न सक्ने प्रशासनले जनाएको छ ।


































