काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा दायर मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशपछि धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन्।
अदालतको आदेशअनुसार बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पेश गरेपछि गोल्छा रिहा भएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गोल्छालाई गत वैशाख १० गते पक्राउ गरेको थियो।
प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग जोडिएको व्यावसायिक कारोबारमा गोल्छाको समेत सम्बन्ध देखिएपछि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको थियो।
उक्त प्रकरणमा बीमा, धितोपत्र कारोबार तथा आर्थिक अनियमिततासँग सम्बन्धित विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। अदालतको आदेशसँगै गोल्छा धरौटीमा रिहा भए पनि उनीविरुद्धको कानुनी प्रक्रिया भने निरन्तर रहनेछ।
































