काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्यावलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्यावलाई सीईओ नियुक्त गरिएको हो।
लगानी बोर्डको सीईओ पदका लागि दुई दर्जनभन्दा बढी उम्मेदवारले आवेदन दिएका थिए।
याङ्की उक्याव यसअघि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्यरत थिइन्। साथै, उनी यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीका रूपमा पनि काम गरिसकेकी छन्।
उनी विकास अर्थशास्त्र र सार्वजनिक नीतिका क्षेत्रमा विज्ञ मानिन्छिन्। बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी उक्यावले दिगो विकास, संघीय वित्तीय प्रणाली, सार्वजनिक लगानी तथा पूर्वाधार विकासलगायत विषयमा अनुभव र विशेषज्ञता हासिल गरेकी छन्।


































