काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गर्दै केन्द्रीय बैंकले एकीकृत परिपत्र –२०८० मा संशोधन गरेको छ ।
यो संशोधन सँगै विदेशी मुद्रा सटही लचिलो हुने भएको छ । हाल मुलुकमा विदेशी मुद्राको सञ्चिति बढ्दै गएपछि केन्द्रीय बैंकले पनि विदेशी मुद्राको सहटी व्यवस्थामा लचिलो नीति लिएको हो ।
अब ‘कपि डकुमेन्ट’को आधारमा विदेशी मुद्रा सटही जारी भएको ६० दिन भित्र ‘ओरिजिनल डकुमेन्ट’ पेश गरिसक्नुपर्ने छ ।
यस्तै गरी, सटही सुविधा प्रदान भएको १२० दिन अर्थात् ४ महिना भित्र सामान आयात गरिसक्नुपर्ने भएको छ । यसअघि ९० दिनभित्र सामान आयात गरिसक्नुपर्ने थियो ।
हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेन्टका पार्टपुर्जा तत्कालै विदेशबाट मगाउनुपरेमा बिक्रेताले उधारोमा १ लाख डलर मूल्यसम्मका सामान अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याउन पाउने भएका छन् । यसअघि उधारो सुविधा १० हजार डलरसम्म मात्रै थियो ।
यस्तै, वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत सटही सुविधा उपलब्ध गराउँदा जापान, दक्षिण कोरिया, युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलिया जानेको हकमा अधिकतम ५०० डलरसम्म सटही सुविधा पाउने भएका छन् ।
यस्तै, अन्य मुलुक जाँदा २०० डलरसम्म सटही सुविधा पाउने व्यवस्था छ । ५०० डलर सटही सुविधा पाउने मुलुकको सूचीमा अस्ट्रेलिया थपिएको छ ।
यसअघि वैदेशिक रोजगारीमा जाँदा अस्ट्रेलियाको हकमा ५०० डलर सटही सुविधा थिएन । राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चिति बढ्दै गएपछि लचिलो नीति लिएको हो ।
































