काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर खण्डमा पहिरो गएर मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्गबाट काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो तीन दिनमा मात्रै करिब ८८ हजार सिलिन्डर ग्यास उपत्यका भित्रिएको छ ।
सडक अवरुद्ध हुँदा उपत्यकामा ग्यास आपूर्तिमा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै निगमले तराईका विभिन्न जिल्लास्थित उद्योगबाट ग्यास रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो ।
निगमको तथ्यांकअनुसार भदौ १८ देखि २० गतेसम्म ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको छ ।
निगमका अनुसार काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका सिलिन्डरलाई अर्को व्यवस्था नभएसम्म बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा रिफिल गरिनेछ । त्यसपछि वैकल्पिक सडकमार्ग हुँदै काठमाडौं ल्याएर बिक्री वितरण गर्ने व्यवस्था गरिएको छ ।
यसरी उपत्यकामा ल्याइएका ग्यासमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा/श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट/सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सीताश्री र नमस्ते ब्रान्डका सिलिन्डर रहेका छन् । निगमका अनुसार १६ वटा उद्योगका ग्यास यही वैकल्पिक प्रक्रियाबाट निरन्तर उपत्यका भित्रिरहेका छन् ।
पृथ्वी राजमार्गको कृष्णभिर खण्ड नियमित सञ्चालनमा नआएसम्म वैकल्पिक मार्गबाटै ग्यास आपूर्ति तथा बिक्री वितरणलाई निरन्तरता दिइने निगमले जनाएको छ ।
































