काठमाडौं । लगनको महिना मानिने मङ्सिर सुरु भएसँगै बजारमा सुन चाँदीको कारोबारबारे उपभोक्ताको चासो बढेको छ । कात्तिक महिना सकिए लगत्तै सुनको मूल्यमा प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ ।
तिहारपछिको चार दिनलाई हेर्ने हो भने बजारमा झण्डै एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार भएको सुनचाँदी व्यवसायीको तथ्याङ्क छ ।
तर मङ्सिर लाग्नु, विवाह हुनु वा चाडपर्व आउनु र सुनको मूल्यसँग कुनै सम्बन्ध नरहने नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले आर्थिक भ्वाईसलाई जानकारी दिएका छन् ।
यो वर्षको दशैं तिहारमा अहिलेसम्मकै सबैभन्दा कम मात्रामा सुनचाँदीको कारोबार भएको अध्यक्ष शाक्यको भनाई छ । तुलनात्मक रूपमा अन्य वर्षको चार्डपर्वमा हुने व्यापार भन्दा यो वर्ष एक तिहाइ मात्रै कारोबार भएको शाक्यले बताए ।
उनी भन्छन्, ’’बजारको अवस्था देखेर मलाई सुस्केरा आएको छ। विगतको वर्षमा तीज नजिकिन नपाउँदै दशैंका लागि गरगहना अडर हुन्थ्यो। यो पटक दशैं वा तिहारकै अघिल्लो दिन मात्रै मैले बजारमा केही मान्छे देखे ! थोरै कारोबार माथि उठेको पाए, यो हाम्रो नेपाली बजारका लागि निकै दुःख लाग्दो विषय हो।’’
उनी थप्छन् प्राकृतिक प्रकोपहरू जस्तै भूकम्प, कोरोना लगायतलाई पाखा लगाएर हेर्दा हाम्रो बजार साँच्चिकै सुस्ताएको छ, कमजोर भएको छ , अहिले जति चार्डपर्वमा कारोबार भयो पहिलेका वर्षहरूमा सामान्य अवस्थामा यो भन्दा बढी कारोबार हुने गरेको हामीसँग आकडा छ ।
सामान्यतया अनुकूल समयमा वा बजार चलायमान रहेको समयमा वा अघिल्ला वर्षहरूमा दैनिक रूपमा २५ देखि ४० किलोसम्म काँचो सुनको खपत हुने गरेको अवस्थामा अहिले चार्डवर्पमा समेत उल्लेखित मात्रामा सुनको खपत हुन मुस्किल परेको अध्यक्ष शाक्यले बताए ।
दशैंको समयमा कम्तीमा दैनिक ५० किलो काँचो सुनको खपत हुने आशा गरेको भए पनि दशैं मुखैमा आउँदा समेत २०,२५ किलो मात्रै खपत भएको शाक्यको भनाई छ ।
यसरी नेपाली बजारमा सुनको खपत हुनै छाडेको अवस्था सृजना हुँदा समेत सरकार भने मुखदर्शक बनेको शाक्यको गुनासो छ। विश्व बजारमा भएको उथलपुथल र अन्तर्राष्ट्रिय बजारमा आएको ओपनीङ रेटको कारण नेपाली बजारमा प्रभाव परेको बताउँदै शाक्यले विवाह , चार्डपर्वले भन्दा केही मात्रामा क्रिसमस ,अंग्रेजी नयाँ वर्षले विश्व बजारमा प्रभाव पार्ने उल्लेख गरेका छन् ।
अर्कोतर्फ चीन–अमेरिका व्यापारिक टसल र ब्रिक्स राष्ट्रहरुको नयाँ मुद्रा प्रचलनमा ल्याउने वहसले अहिले विश्व अर्थतन्त्र पर्ख र हेरको अवस्थामा रहेको उनी बताउँछन् ।
‘डलरको विरुद्धमा ब्रिक्सले नयाँ मुद्रा प्रचलनमा ल्यायो भने सुनको मूल्यले थप उचाई लिने देखिन्छ,’ अध्यक्ष शाक्यले भने,‘यो समय दक्षिण एसियामा सुनको धेरै खपत पनि हुने भएकाले मूल्य बढ्ने नै देखिन्छ ।’


































