नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा आरोपितहरू विरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलको तर्फबाट थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि चलेको थुकछेक बहसको क्रममा मंगलबार जाहेरीवाला र सरकारी वकिलको तर्फबाट बहस गरिएको थियो भने बुधबारदेखि प्रतिवादीको तर्फबाट बहस चल्नेछ ।
जाहेरीवालाहरूको तर्फबाट बहस गर्ने क्रममा अधिवक्ता हरिप्रसाद कट्टेलले आरोपीले नाम लिएकाहरूको पनि बयान लिन अदालतमा झिकाउन माग गरे। उनले जिल्ला अदालत काठमाडौंमै विचाराधीन उमेश रेग्मीविरुद्ध सौगात सुनुवारको जाहेरीले नेपाल सरकार वादी भएको मुद्दाको उदाहरण दिँदै आरोपितले बयानमा नाम लिएकाहरूलाई पनि अदालतमा झिकाउन माग गरेका हुन् ।
जाहेरीवालाको तर्फबाट बहस गर्नेहरूले जाहेरीकर्ताले बयानमा पोलेका भरमा कोही मुद्दा चलेर थुनामा बस्नुपर्ने, कोहीले उन्मुक्ति पाउने स्थिति आउन दिन नहुने जिकिर गरेका थिए ।
अधिवक्ता कट्टेलले नक्कली शरणार्थी प्रकरणमा आरोपितले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा।अजयक्रान्ति शाक्य, तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्यको पनि नाम लिएको बताए ।
त्यसैगरी तत्कालीन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री ओलीलाई समेत पोलेको भन्दै अधिवक्ता कट्टेलले उनीहरूको समेत बयान लिनुपर्ने माग गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

































