गण्डकी । गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान शनिबार चौथो दिनमा पनि उत्साहजनक रह्यो । शनिबार साँझ ६ः०५ बजे १५६ यात्रुसहित पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइ दुबईको जहाजले पोखराबाट ८३ यात्रु लिएर दुबई फर्केको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।
यसअघि गति बिहीबार दुबईबाट फ्लाइ दुबईमार्फत १२२ यात्रु पोखरा अतवरण गरेका थिए । पोखराबाट १४३ यात्रु उक्त जहाजबाट दुबई गएका थिए ।
यस उडानलाई प्रभावकारी र दिगो बनाउन कस्सिएका पोखराका पर्यटन व्यवसायीलगायत सम्बद्ध पक्ष सुरुआतका दिनमा यात्रु सङ्ख्या देखेर उत्साहित छन् । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडानको सुरुआती सङ्केत सकारात्मक र उत्साहजनक रहेको बताए ।
“यात्रुको बुकिङ पनि राम्रो छ, टुर्स एन्ड ट्राभल्स व्यवसायीहरू पनि खुसी हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यस उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल, रेष्टुराँले छुट योजना ल्याएका छन् ।” फ्लाइ दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र साँझ ७ः१५ बजे दुबई प्रस्थानको तालिका रहेको विमानस्थलका सूचना अधिकारी रावतले जानकारी दिए ।
फ्लाइ दुबईले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान सुरु गरेको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सुरु गर्ने फ्लाइ दुबई पहिलो वायुसेवा कम्पनी हो । यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तरराष्ट्रिय चार्टर उडान गरेका थिए ।
यो उडान सुरु भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकबाट सजिलै पोखरा आउन सकिने भएको छ । यसबाट पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुनसकेको थिएन ।
सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान सुरु गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो ।
सरकारले अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।































