काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) शुक्रवार बिहान बाँडफाँड हुने भएको छ ।
धितो पत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको एफपीओ १७ हजार ८४५ जनाले मात्र पाउनेछन् । जसमध्ये १७ हजार ८४४ जनाले १० कित्ता प्राप्त गर्नेछन् भने एक जनाले ११.१८ कित्ता सेयर हात पार्नेछन् ।
उन्नतिको एफपीओ हात पार्न भाग्यकै भर पर्नु पर्नेछ । किनभने यसमा मागभन्दा ६९.७३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोला प्रथाबाट एफपीओ बाँडफाँट हुनेछ । अन्तिम दिनसम्ममा एफपिओमा ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले गत कात्तिक २१ देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ निष्कासन गरेको थियो । उन्नति सहकार्य लघुवित्तले पुँजी संरचनालाई विद्यमान ऐन अनुसार मिलाउन एफपीओ जारी गरेको हो ।
साबिकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात् बनेको उन्नति सहकार्य लघुवित्तमा संस्थापक समूहको हिस्सा ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत मात्र छ । राष्ट्र बैकको व्यवस्था अनुसार सर्वसाधारणतर्फ ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ निष्कासन गरेको हो । एफपीओपछि संस्थापक हिस्सा घट्नेछ भने सर्वसाधारणको स्वामित्व बढ्नेछ ।
हाल लघुवित्तको चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार ७३६ रुपैयाँ ३२ पैसा पुग्नेछ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उन्नति सहकार्य लघुवित्तको एफपीओ मङ्सिर ८ गते शुक्रवार बिहान ९ बजे बाँडफाँड गरिन लागिएको हो ।































