काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरुमा परेको कुल बिमा दाबीमध्ये ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न ३३ सय बिमा दाबी आवेदनबाट २३ अर्ब ४४ करोड रुपैयाँको क्षति माग भएपनि अहिलेसम्म ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै दाबी भुक्तानी भएको हो ।
बिमा प्राधिकरणका अनुसार अहिलेसम्म सबैभन्दा बढी दाबी भुक्तानी सिद्धार्थ प्रिमियर इन्सुरेन्सले गरेको छ । सिद्धार्थ प्रिमियरमा ४ सय ७६ बीमा दावी आवेदनबाट ५ अर्ब ५३ करोड ५६ लाख रुपैयाँको बिमा दाबी परेकोमा अहिलेसम्म १ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ ।
त्यस्तै शिखर इन्सुरेन्सले २ अर्ब ४० करोड ५८ लाख रुपैयाँको बिमा दाबीमा ७१ करोड ११ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियलले २ अर्ब ८० करोड ९७ लाख रुपैयाँको बिमा दाबीमा ६६ करोड १ लाख रुपैयाँको भुक्तानी दिइसकेको छ ।
सगरमाथा लुम्बिनी इन्सुरेन्सले १ अर्ब ४९ करोड रुपैयाँका बिमा दाबीमा २० करोड ९९ लाख रुपैयाँ, नेको इन्सुरेन्सले १ अर्ब २० करोडको बीमा दाबीमा २२ करोड ५९ लाख रुपैयाँ बराबरको भुक्तानी दिएको छ । हिमालयन एभरेष्ट इन्सुरेन्सले ३० करोड ६७ लाख, एनएलजी इन्सुरेन्सले १७ करोड २७ लाख रुपैयाँ तथा नेपाल इन्सुरेन्सले १८ करोड ४ लाख रुपैयाँ बराबरको भुक्तानी दिएको छ ।































