काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी पुस १० गते आफ्नो ५१ औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयले समारोहको तयारी र सहभागी विद्यार्थीको विवरण सार्वजनिक गरेको हो ।
विश्वविद्यालयका अनुसार शैक्षिक सत्र २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तह उत्तीर्ण गरेका कुल ८९ हजार १९९ विद्यार्थीमध्ये १६ हजार ३८० जनाले दीक्षान्तमा सहभागी हुन आवेदन दिएका छन् ।
तहगत सहभागी संख्या :
स्नातक (Bachelor)- ११,२३४
कुल आवेदक विद्यार्थी- १६,३८०
इतिहासकै ठूलो समारोह प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा हुने यस समारोहमा २३ हजार ९८० अभिभावकसहित करिब ४२ हजार जनाको उपस्थिति रहने अनुमान गरिएको छ। त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले यो सहभागिता त्रिविको इतिहासमै सबैभन्दा ठूलो हुने बताए। समारोहमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई २५ वटा दीक्षान्त पदक तथा पुरस्कार वितरण गरिनेछ।
विशेष आकर्षण : नोबेल पुरस्कार विजेताको उपस्थिति
यस वर्षको दीक्षान्त समारोहमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्रिविको दीक्षान्तमा नोबेल विजेता सहभागी हुन लागेको यो पहिलो पटक हो, जसले त्रिविको अन्तर्राष्ट्रिय साख बढाउने विश्वास गरिएको छ।
समारोहको अध्यक्षता त्रिविका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछिन्। कार्यक्रममा शिक्षा मन्त्री एवं सह कुलपति महावीर पुन र उपकुलपति प्रा.डा. दीपक अर्यालको समेत विशेष उपस्थिति रहनेछ।


































