काठमाडौँ। बढ्दो साइब अपराध र जोखिमलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले बृहत् अन्तरक्रिया कार्यक्रम समापन भएको छ ।
‘साइबर अपराधको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतलगायत सरोकारवाला निकायका प्रतिनिधि र व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय सूचना प्रविधि (आईटी) कम्पनी जेनिस सोलुसनका प्राविधिक प्रमुख निरञ्जन कुँवरले साइबर सुरक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा प्रहरीको साइबर ब्यूरो प्रमुख डीआईजी नवीन्द्र अर्याल, सूचना प्रविधि प्रमुख डीआईजी अरुण भण्डारी, एसएसपी ज्ञानेन्द्रराज राईलगायत प्रहरी प्रधान कार्यालयका विभाग, महाशाखाका उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो।
जेनिस सोलुसनका वरिष्ठ निर्देशक एवं आईटी इन्जिनियरहरु अमित जोशी, शरद बन्जरा, निर्वान पाल, सम्पन्न श्रेष्ठसमेत सहभागी कार्यक्रममा साइबर सुरक्षा सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोग र सुरक्षा रणनीतिबारे छलफल भएको कम्पनीको भनाई छ।
साइबर सुरक्षा जोखिम बढ्दै गइरहेको पछिल्लो समयमा प्रहरीले आयोजना गरेको यस खालको बृहत् कार्यक्रमलाई सकारात्मक मानिएको छ । नेपालसहित ११ वटा देशमा कार्यालय स्थापना गरी आईटी सेवा प्रवाह गरिरहेको जेनिससँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।






































