काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको विपक्षी दलको बैठकले ठहर गरेको छ ।
सत्ता जोड घटाउको अङ्कलाई लिएर ओली सरकारले बिना आधार र प्रमाण रास्वपा सभापति रवि लामिछानेलाई प्रतिशोधको प्रयास गरेको भन्दै त्यसको सामूहिक प्रतिवाद गर्ने समझदारी शुक्रबारको बैठकमा बनेको माओवादी नेता शक्ति बस्नेतले बताए ।
आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक रुपमा बोलाएको विपक्षी दलको बैठकमा यस्तो समझदारी बनेको नेता बस्नेतको भनाई छ ।
तर, सहकारी प्रकरणमा दोषी देखिएका सबै नेताहरूलाई कारबाही सरकारले गर्नुपर्ने कुनैलाई काखा र पाखा गर्न नहुने नेताहरूको तर्क थियो ।
यस्तै बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी, लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र आम जनता पार्टीको सहभागिता रहेको थियो ।
यस्तै सरकारको काम कारबाही जनमुखी बनाउन राष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि सबैलाई विपक्षी दलको तर्फबाट ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ। सरकारले तत्काल नियमित संसद्को अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।


































