काठमाडौँ । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउने तयारी गरेको छ। केन्द्रीय निर्वाचन समितिको आइतबार बसेको बैठकले निर्वाचनमा डिजिटल (पेपरलेस) प्रणाली वा ईभीएम (इलेक्ट्रोनिक भोटिङ मेसिन) प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको हो ।
समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशन तोकिएको समयभित्र स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाउने निर्णय गरेको जनाएको छ ।
बैठकले निर्वाचन प्रक्रिया सुरु भएसँगै लागू हुने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न केन्द्रीय कार्यसमितिसहित पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ।
निर्वाचन व्यवस्थापनमा दक्ष जनशक्ति परिचालन गर्न कानुन व्यवसायी तथा अन्य पेशागत समूहबाट स्वयंसेवक आह्वान गरी रोस्टर तयार गर्ने, उनीहरूलाई अभिमुखीकरण (ओरिएन्टेसन) दिएर आवश्यकता अनुसार निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले विगतका संयोजक, सदस्य तथा निर्वाचन अधिकृतहरूको अनुभव, सुझाव र रायलाई समेट्दै सरोकारवाला सबै पक्षसँग सकारात्मक सहयोगको आग्रह गरेको छ। बैठकका निर्णयहरू जानकारीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिसमक्ष पेश गरिने समितिका सदस्य सचिव राजु कटुवालले जनाएका छन्।

































