काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको नाफामा गत आर्थिक वर्ष दबाब देखिएको छ । बैंकको घट्दो ब्याजदर र जेनजी आन्दोलनका कारण बढेको बीमा दाबीले १४ कम्पनीको समग्र खुद नाफा ३८.४९ प्रतिशतले घटेर २ अर्ब ७२ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो आर्थिक वर्षमा १४ कम्पनीले ४ अर्ब ४३ करोड ६९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
नाफा घट्नुका प्रमुख कारणमध्ये बैंकको मुद्दती निक्षेपमा घटेको ब्याजदर र जेनजी आन्दोलनका कारण बढेको बीमा दाबीलाई लिइएको छ । निर्जीवन बीमा कम्पनीहरूको आम्दानीको महत्वपूर्ण हिस्सा मुद्दती निक्षेपको ब्याजबाट आउने भएकाले ब्याजदर घट्दा त्यसको प्रत्यक्ष प्रभाव आम्दानीमा परेको हो ।
त्यस्तै, २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट मात्रै निर्जीवन बीमा कम्पनीहरूमा करिब २३ अर्ब ३८ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको थियो । दाबी भुक्तानीसँगै बाँकी दाबीका लागि आवश्यक रकम व्यवस्था गर्नुपर्दा कम्पनीहरूको नाफामा थप दबाब परेको देखिन्छ ।
कम्पनीगत रूपमा दि ओरियन्टल इन्स्योरेन्स सबैभन्दा बढी नाफा कमाउने निर्जीवन बीमा कम्पनी बनेको छ । अघिल्लो आर्थिक वर्षमा ११ करोड ७६ लाख ४७ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले गत आवमा ४९ करोड ४ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
राष्ट्रिय बीमा कम्पनी ३४ करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद नाफासहित दोस्रो स्थानमा छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३३ करोड ७८ लाख ८५ हजार रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थान हासिल गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ७८ लाख ५२ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३१ करोड ३० लाख ९६ हजार रुपैयाँ र नेको इन्स्योरेन्सले २८ करोड ८३ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
त्यस्तै, प्रभु इन्स्योरेन्सले २४ करोड ७४ लाख ४३ हजार रुपैयाँ, शिखर इन्स्योरेन्सले १३ करोड ८९ हजार रुपैयाँ, सानिमा जीआईसीले १३ करोड ३९ हजार रुपैयाँ र नेपाल इन्स्योरेन्सले १२ करोड ७५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
युनाइटेड अजोड इन्स्योरेन्सले ६ करोड ३० लाख ९९ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ५ करोड ७८ लाख १२ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४० लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
भारतीय स्वामित्वको नेशनल इन्स्योरेन्स भने गत आर्थिक वर्षमा पनि घाटामा रहेको छ । कम्पनीले १३ करोड १० लाख ७५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा पनि कम्पनी १५ करोड ७ लाख ४० हजार रुपैयाँ घाटामा रहेको थियो ।
समग्रमा अधिकांश निर्जीवन बीमा कम्पनीको नाफा घटेको भए पनि प्रतिकूल परिस्थितिमा समेत कम्पनीहरू नाफामा रहनुलाई सकारात्मक रूपमा हेरिएको छ । विशेषगरी उच्च बीमा दाबी र घट्दो ब्याजदरका कारण आम्दानीमा परेको दबाबले आगामी दिनमा कम्पनीहरूको नाफा सुधार चुनौतीपूर्ण हुने देखिएको छ ।































