काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्। सो अवधिमा कम्पनीहरूले ३४ लाख ६७ हजार १६७ वटा बीमा पोलिसी जारी गर्दै उल्लेख्य व्यवसाय विस्तार गरेका हुन्।
तथ्यांकअनुसार मोटर बीमा कम्पनीहरूको मुख्य आम्दानीको स्रोत बनेको छ। मोटर बीमाबाट मात्रै १५ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जसले कुल व्यवसायमा सबैभन्दा ठूलो योगदान दिएको छ।
यसपछि सम्पत्ति बीमाबाट १२ अर्ब २२ करोड ७३ लाख रुपैयाँ, इन्जिनियर तथा ठेक्का–जोखिम बीमाबाट १० अर्ब ७ करोड ५६ लाख रुपैयाँ, विविध बीमाबाट ५ अर्ब ३२ करोड ३ लाख रुपैयाँ तथा सामुन्द्रिक बीमाबाट ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।
त्यसैगरी, हवाई बीमाबाट २ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ, कृषि तथा बाली बीमाबाट १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ र लघु बीमाबाट १ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको देखिएको छ।
प्रदेशगत विश्लेषण गर्दा बागमती प्रदेश मा निर्जीवन बीमा व्यवसाय सबैभन्दा बढी केन्द्रित रहेको देखिन्छ। त्यसपछि क्रमशः कोशी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् भने सबैभन्दा कम हिस्सा कर्णाली प्रदेश मा देखिएको छ।
समग्रमा, बीमा व्यवसाय अझै पनि शहरी तथा आर्थिक गतिविधि केन्द्रित प्रदेशहरूमा सीमित रहेको देखिन्छ, जसले बीमाको पहुँच विस्तारका लागि ग्रामीण तथा दुर्गम क्षेत्रमा थप प्रयास आवश्यक रहेको संकेत गर्दछ।































