काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ मा निर्जीवन बीमा कम्पनीहरूले उल्लेखनीय वृद्धि गर्दै ५० अर्ब ६० करोड रुपैयाँभन्दा बढी बीमा व्यवसाय गर्न सफल भएका छन्। सञ्चालनमा रहेका १४ कम्पनीहरूले अघिल्लो वर्षको तुलनामा १५.१२ प्रतिशतले कुल बीमा शुल्क आर्जन बढाएका हुन्।
अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूले ४३ अर्ब ९५ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका थिए।
समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ६ अर्ब ५१ करोड रुपैयाँको व्यवसाय गर्दै अग्रस्थान कायम राखेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो स्थानमा रहँदा हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्सले सर्वाधिक वृद्धि दर हासिल गरेका छन्। यस्तै अन्य कम्पनीहरूले पनि मध्यम वृद्धि देखाएका छन् भने राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सको व्यवसाय तुलनात्मक रूपमा न्यून रहेको छ।































