काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको पछिल्लो व्यावसायिक विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको जेठ महिनामा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल ४ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन् ।
गत आर्थिक वर्षको सो अवधिमा यी कम्पनीहरूको बीमा व्यवसाय करिब ३ अर्ब ९३ करोड रुपैयाँ थियो। यस आधारमा चालू वर्षको जेठ महिनामा निर्जीवन बीमा व्यवसायमा झण्डै ३.९२ प्रतिशतले वृद्धि भएको देखिन्छ।
प्राधिकरणको तथ्यांकअनुसार जेठ महिनामा सलिकोले सर्वाधिक ५१ करोड ५२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४३ करोड ४१ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४२ करोड ५७ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३९ करोड ३७ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३८ करोड २८ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।
यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्सले २९ करोड ४ लाख रुपैयाँ, एनएनली इन्स्योरेन्सले २८ करोड ७९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २६ करोड ९६ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २३ करोड ७१ लाख रुपैयाँ, ओरियण्टल इन्स्योरेन्सले २१ करोड ५३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १९ करोड २२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १६ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १५ करोड १७ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले १३ करोड २५ लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेको तथ्यांकमा उल्लेख छ ।
वृद्धिको दरका अनुसार नेशनल इन्स्योरेन्सले सबैभन्दा उल्लेखनीय उछाल देखाउँदै अघिल्लो वर्षको जेठको तुलनामा यस वर्ष सोही अवधिमा १७८ प्रतिशतले बीमा व्यवसाय विस्तार गरेको छ। त्यस्तै राष्ट्रिय बीमा कम्पनीको ५६.७२ प्रतिशत, ओरियण्टल इन्स्योरेन्सको २७.७९ प्रतिशत, सलिको इन्स्योरेन्सको ११.४७ प्रतिशत र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६.४५ प्रतिशतले पनि बीमा व्यवसाय वृद्धि भएको देखिन्छ ।
यस्तै, वृद्धिदरका हिसाबले शिखर इन्स्योरेन्सको ६.१२ प्रतिशत, नेको इन्स्योरेन्सको ५.२५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.६७ प्रतिशत र नेपाल इन्स्योरेन्सको ३.८९ प्रतिशतले बीमा व्यवसायमा वृद्धि देखिएको छ।
तर अर्कोतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.७४ प्रतिशतले सामान्य गिरावट आएको छ भने एनएलजी इन्स्योरेन्सको ९.७५ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको १०.९१ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ११.५२ प्रतिशत र सानिमा जीआईसी इन्स्योरेन्सको २७.१८ प्रतिशतले बीमा व्यवसाय घटेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।































