काठमाडौँ। नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकार समक्ष आग्रह गरेका छन् ।
मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई उनीहरूले पुर्याएको योगदानमा आधारित रहेर सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकार समक्ष आग्रह गरेका हुन्। उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भने पनि सरकारले आफ्नो दायित्व निर्वाह नगरेको बताए।
सरकारले तिरिदिनु पर्ने १ हजार १४ रुपैयाँ नछुट्टाइएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
तर त्यो सरकारले जम्मा गरिदिनु पर्ने १०१४ रुपैयाँको जुन योगदान गर्नुपर्ने हो, त्यसको लागि सरकारले पैसा छुट्याएको छैन । म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्ने भन्ने हाम्रो जे व्यवस्था छ र संविधानको धारा ३४ ले जे भन्छ, त्यो दिशामा सरकारले गम्भीर पहलकदमी गरोस् ।
नेपालका सबै खाले ट्रेड युनियनसँग संवाद गरिराखेर, सरोकारवालाहरूसँग संवाद गरिराखेर, इनार सफा गर्दागर्दै मर्नु नपर्ने यो देशमा अवस्था बनाउनका लागि सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’ सांसद शर्मालेले भने

































