काठमाडौँ। नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनेको अर्थमन्त्री वर्षमान पुन अनन्तले बताएका छन् ।
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए । लगानी बोर्डका उपाध्यक्ष समेत रहेका मन्त्री पुनले आफूहरूको आह्वानमा लगानीको अवसर र सम्भावना खोज्न आएकामा सम्मेलनका पाहुनाप्रति आभार व्यक्त गरेका हुन।
सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरूबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उनको भनाइ थियो ।
मन्त्री पुनले सम्मेलनले क्रममा लगानीकर्ता र सरोकारवाबीच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिइएको बताए । नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको भन्दै नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको मन्त्री पुनले उल्लेख गरे ।
उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवर्द्धनमा जोड दिएको उनको भनाइ थियो । हाल लगानी गरिरहेका विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता र नाफा आर्जन गरेको अवस्थाले पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको पुष्टि हुने भन्दै पुनले ढुक्क भएर लगानी गर्न अपिल गरे ।
‘व्यावसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौँ’, मन्त्री पुनले भने, ‘नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जबाफदेहिता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ ।’



































