काठमाडौँ । क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता जनकपुर बोल्ट्स विरुद्ध नश्लीय र साम्प्रदायिक व्यवहार देखाउनेहरू विरुद्ध तत्काल कारबाही प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारसँग माग गरेका छन्।
यता, पुस ४ गते भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदा जनकपुरका खेलाडीहरू विरुद्ध नश्लीय र साम्प्रदायिक तथा रंगभेदी नारा जुलुस लगाएको उल्लेख गर्दै मधेसी आयोगले त्यसमा संलग्नहरूलाई कारबाही माग गरी गृह प्रशासनमा सिफारिस गरिसकेको छ।
कांग्रेस महामन्त्री थापाले मधेसी आयोगको सिफारिसलाई धन्यवाद प्रकट गर्दै आयोगको सिफारिस बमोजिम दोषी विरुद्ध तुरुन्तै कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई अनुरोध गरेका हुन्।
‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ’, थापाले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ।



































