काठमाडौँ। एनसेलले एक भव्य कार्यक्रमको बिच आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ । उक्त अवसर पारेर एनसेलले सामाजिक पहलमा २० करोड योगदान गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।
उक्त कार्यक्रम मार्फत एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान गर्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी २ अर्ब भन्दा बढीको योगदान गरेको जनाएको छ।
आफ्नो १९ औँ वार्षिक उत्सवको अवसर पारेर कम्पनीले एनसेल फाउन्डेसनको घोषणा गरेको छ ।
एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउन र दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्याउने बताएको छ। एनसेल फाउन्डेसनको उद्देश्य नेपालमा डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढवा दिने रहेको उक्त कार्यक्रम मार्फत जनाइएको छ ।
एनसेल कम्पनीले यस अगाडि २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियो । साथै आफ्ना परिवारजन तथा आफन्तहरूसँग सम्पर्कमा रही रहन कम्पनीले ग्राहकहरूलाई १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेवा सुविधाहरू निःशुल्क उपलब्ध गराएको थियो ।
कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड रुपैयाँ योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी रहेको एनसेलले बताएको छ।
गत वर्षको जाजरकोट भूकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । साथै भूकम्प प्रभावित क्षेत्रका १० विद्यालयका कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो ।

त्यसैगरी, २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरू राहत तथा उद्धारका लागि प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गरेको थियो ।
१९औँ वार्षिकोत्सवको कार्यक्रममा एनसेलले आगामी ५ वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता समेत जनाएको छ । एनसेलले सन् २००५ मा आजकै दिन अर्थात् सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल) ले आफ्नो सेवा सञ्चालनमा ल्याएको थियो । नेपालको एक ठुलो करदाताको रूपमा आफ्नो स्थापनाकालदेखि आजसम्म ३२० अर्बभन्दा बढी सरकारलाई कर तथा शुल्क बुझाइसकेको एनसेलले जनाएको छ।





































