काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर समाचारप्रति आक्रोश पोखेका छन् ।सामाजिक सञ्जालमार्फत बुधबार प्रकाशित समाचार आफूविरुद्ध षड्यन्त्रपूर्वक छापिएको भन्दै रविले आक्रोश व्यक्त गरेका हुन्।
लामिछानेले भनेका छन्, ‘कान्तिपुरले बयानलाई तोडमरोड गरेर प्रकाशित गरेको छ, जसको मक्सद मलाई बदनाम गर्नु हो । संसदीय समितिमा छविलाल जोशीका बयान ताजै छ ।
कान्तिपुरले आफ्नो सबै शक्ति र स्रोतहरू आफ्नो विरुद्ध प्रयोग गरेको दाबी गर्दै लामिछानेले घिनलाग्दो मिडिया ट्रायल गरेको बताएका छन् । कान्तिपुरसँग प्रत्यक्ष रूपमा बहस गर्न तयार रहेको जनाउँदै लामिछानेले सार्वजनिक स्थानमा खुला बहसको व्यवस्था गर्न चुनौती दिए ।
सभापति लामिछानेले सरकारलाई तुरुन्तै कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गर्न र कान्तिपुरलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।


































